काठमाडौं । बागमती प्रदेशमा सवारी दुर्घटनाको अवस्था अझै चुनौतीपूर्ण देखिएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा दुर्घटनाको संख्या बढ्दो छ भने दुर्घटना न्यूनीकरणका लागि जनशक्ति अभाव, चालकको लापरवाही र सडक सुरक्षाका पूर्वाधार अभाव मुख्य चुनौतीका रूपमा देखिएका छन् । हेटौंडामा बिहीबार सुरक्षित यात्रा हामी सबैको प्रतिबद्दता भन्दै आयोजित ट्राफिक सुरक्षा तथा व्यवस्थापनसम्बन्धी समीक्षा गोष्ठीमा सरोकारवालाले प्रविधिको प्रयोग र सबै पक्षको जिम्मेवारी आवश्यक रहेको बताएका छन् । बागमती प्रदेशमा सवारी दुर्घटनाको तथ्याङ्क चिन्ताजनक देखिएको छ । आर्थिक वर्ष २०८०–०८१ मा १ हजार ५ सय ३३ दुर्घटना हुँदा ३ सय १८ जनाको मृत्यु भएको थियो भने ३ हजार २ सय जना घाइते भएका थिए ।
यस्तै आर्थिक वर्ष २०८१–०८२ मा दुर्घटनाको संख्या बढेर २ हजार ४ सय १२ पुगेको छ । सो वर्ष ३ सय ४ जनाको मृत्यु भएको थियो भने ४ हजार ७ सय ४७ जना घाइते भएका थिए । चालु आर्थिक वर्षमा हालसम्म १ हजार ५ सय ६८ दुर्घटना भएका छन् भने २ सय ८० जनाको मृत्यु र ३ हजार २ सय ६८ जना घाइते भएका छन् । सरोकारवाला निकायका अनुसार दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही हो । करिब ८० प्रतिशत दुर्घटना चालककै कमजोरीका कारण हुने गरेको उनीहरूको भनाइ छ । तर ट्राफिक प्रहरीको मात्र प्रयासले दुर्घटना नियन्त्रण सम्भव नभएकाले सबै पक्षको सहकार्य आवश्यक रहेको बताइएको छ । दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको मात्रै जिम्मेवारी होइन, चालक, यात्रु, समाज र सबै निकायको साझा दायित्व रहेको निष्कर्ष निकालेको छ ।



मोबाइल प्रयोग गर्दै सवारी चलाउने, कागजातबिना सवारी सञ्चालन गर्ने र नियम उल्लंघन गर्ने प्रवृत्ति ट्राफिक सुरक्षाको लागि चुनौतीका रूपमा रहेको बताएको छ । जसका लागि प्रविधिमैत्री निगरानी, तालिम र जिम्मेवारी प्रणाली आवश्यक छ । सीमित जनशक्तिका कारण मात्रै सडक सुरक्षा प्रभावकारी बनाउन कठिन हुने भएकाले प्रविधिको प्रयोग र समन्वयमा जोड दिनुपर्नेछ । नेपालमा ६७ लाखभन्दा बढी सवारी साधन दर्ता रहेको तर ट्राफिक प्रहरीको जनशक्ति पर्याप्त नभएको सरोकारवालाको भनाइ छ । बागमती प्रदेशमा २१ देखि २२ लाख जनसंख्या व्यवस्थापनमा करिब ५ देखि ६ हजार प्रहरी र २ देखि २ सय ५० ट्राफिक प्रहरी कार्यरत रहेको छन् । ट्राफिक प्रहरीको स्वीकृत दरबन्दी करिब २ हजार ७ सय मात्रै छ । हाल देशभर ४ हजार ६ सय १५ जना ट्राफिक प्रहरी कार्यरत रहे पनि त्यो पर्याप्त नभएको बताएको छ ।
बागमती प्रदेश सरकारले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने तयारी गरेको छ । प्रदेश राजधानी हेटौंडाका मुख्य चोकहरूमा आधुनिक ट्राफिक लाइट जडान गर्ने तयारी भइरहेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बताउनुभएको छ । नेपाल सरकारले सन् २०३० सम्म सवारी दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशत घटाउने लक्ष्य लिएको छ । तर त्यसका लागि सडक सुरक्षा, चालक अनुशासन, प्रभावकारी अनुगमन र प्रविधिमैत्री व्यवस्थापनलाई सँगसँगै अघि बढाउनुपर्ने देखिएको छ ।



