काठमाडौं । बागलुङ–१ मा नयाँ र पुराना गरि ११ दल चुनावमा छन् भने बागलुुङ–२ मा १२ उम्मेदवार चुनावी मैदानमा छन् । २०७४ मा बाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो त्यस बेला नेपाली कांग्रेस ‘क्लिन स्वीप’ भएको थियो ।
२०७९ मा एकातर्फ नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चासहित पाँच दलिय गठबन्धन हुँदा नेकपा एमालेले पराजय व्यहोर्नु परेको थियो । यसपाली क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय जनमोर्चालाई सघाएको छ भने क्षेत्र नम्बर २ मा जनमोर्चाले सघाएको छ । बागलुङ–१ मा नेपाली कांग्रेसका भीम श्रीस, नेकपा एमालेका हिरा केसी, राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्काबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।



अघिल्लो निर्वाचिनमा यस क्षेत्रबाट कांग्रेसको सहयोगका जनमोर्चाका चित्रबहादुर केसीले निर्वाचन जित्नु भएको थियो । त्यस बेला नेकपा एमालेका सूर्य पाठक पराजित हुनु भएको थियो । केसीले २१ हजार ४६४ ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी पाठकले १८ हजार ८४५ मत ल्याउनु भएको थियो । त्यस बेला राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १९१ मत प्राप्त हुनु भएको थियो । नयाँ पार्टीमा लहर चलिरहँदा पनि पुराना दल आफैंले चुनाव जित्ने दाबी गर्छन् ।
बागलुङ–२ मा नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपा एमालेकी मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरे र राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा मुख्य प्रतिस्पर्धी हुन् । यस क्षेत्रमा नेकपाका गैरेलाई राष्ट्रिय जनमोर्चाले सघाएको छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट कांग्रेससँगको गठबन्धनमा तत्कालीन माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी हुनु भएको थियो । पौडेलले २४ हजार ७९४ मत ल्याउँदा एमालेकी शर्माले २० हजार मत पाउनु भएको थियो । त्यस बेला राष्ट्रिय स्वतन्त्र पार्टीकी तिला खत्रीले दुई हजार ३२७ मत पाउनु भएको थियो । जबकी त्यस बेला रास्वपाको कुनै संगठननै निर्माण भएको थिए । यसपाली चुनाव जित्ने उम्मेदवारहरुको आ–आफ्नै दाबी छ ।
चुनावमा होमिएका उम्मेदवारले नीति निर्माणको कुनै एजेण्डा सुनाउँदैनन् । सुनाउँछन् त केवल विकास निर्माणका आश्वासन मात्रै ।



