चैतेदसैँमा धार्मिक पर्यटकको घुइँचो

बागलुङ कालिका मन्दिरमा बडादसैँ र चैतेदसैँमा विशेष पूजा हुन्छ । यतिबेला कालिका मन्दिर परिसरमा भक्तजनको ठूला भिड छ । एकै दिन हजारौँ दर्जानार्थी कालिका दर्शनका लागि आउँदा लामो समय लाइनमा बस्नु पर्ने अवस्था छ । नवरात्रदेखि नै कालिकामा भक्तजनको भिड लाग्दै आएको छ । वि.सं.१५९१ मा बागलुङ नगरपालिका–१ मा कालिका भगवती मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा सुरुआत भएको मान्यता छ । चैतेदसैँ मेलासँग लामो इतिहास र परम्परा जोडिएको हुँदा यतिबेला देश विदेशबाट मेला भर्न र कालिकाको दर्शनका लागि हजारौँको उपस्थिति छ ।

तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजो स्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरि पूजापाठ सुरु गरिएको किम्बदन्दी छ । लामो इतिहास बोकेको मन्दिरमा पूजाआजा गर्नेको संख्या पछिल्लो आधा दशकमा उल्लेख छ । चैतेदसैँमा दर्शनार्थीको भिड व्यवस्थापन गरि पूजालाई सहज बनाउन सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

कालिका मन्दिरलाई शक्तिको केन्द्रसमेत मानिन्छ । जहाँ देवी कालिकालाई शक्ति, रक्षा र विजयकी देवीका रूपमा पूजा गरिन्छ । यहाँ राँगा, पाठा, कुखुरा र सुँगुरको बली दिने प्रचलन छ । बागलुङ कालिका मन्दिर केवल धार्मिक मात्र होइन, सांस्कृतिक केन्द्र पनि हो । नेपाल र भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन यहाँ दर्शन गर्न आउँछन् । कालीगण्डकी नदी नजिकै रहेको हरियाली वातावरणले यस स्थानलाई अझ आकर्षक बनाएको छ । यहाँ पूजाआज गर्दा मोनाकांक्षा पूरा हुन जनविश्वास छ ।

चैतेदसैँ मेलाका अवसरका कालिका प्रवेशद्वार छेउमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । मेलाले बागलुङको चर्चा र धार्मिक पर्यटक प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय