काठमाडौं — नेपाल सरकारको अनुरोधमा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का फरेन्सिक विशेषज्ञहरू बाढीमा परी मृत्यु भएका तथा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छन्। विनाशकारी बाढीपछि ठूलो संख्यामा प्रभावित भएका नागरिकको पहिचान गर्न एफबीआईले विशेष मानवीय तथा फरेन्सिक विशेषज्ञता उपलब्ध गराइरहेको जनाएको छ। विशेषगरी अमेरिकी नागरिकसहित सबै पीडितका परिवारलाई आफ्ना आफन्तबारे यथार्थ जानकारी उपलब्ध गराउन नेपाली सरकारसँग समन्वय गरी काम भइरहेको छ।
२ सय किलोमिटरभन्दा लामो बाढी प्रभावित क्षेत्र भएकाले शव तथा प्रमाण संकलन र पहिचानको प्रक्रिया जटिल र समय लाग्ने प्रकृतिको रहेको एफबीआईले जनाएको छ। सही पहिचान सुनिश्चित गर्न प्रक्रिया सावधानीपूर्वक र व्यवस्थित रूपमा अघि बढाइएको बताइएको छ। एफबीआईले नेपालका विभिन्न तहका सरकारी तथा सुरक्षा निकायसँग समन्वय गर्दै पहिचानको काम सकेसम्म छिटो सम्पन्न गर्ने प्रयास भइरहेको जनाएको छ।



उता, खोज तथा उद्धार कार्य जारी रहँदा अमेरिकाले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अमेरिकाले बाढीका कारण आफ्ना आफन्त गुमाएका तथा अझै सम्पर्कविहीन रहेका व्यक्तिका परिवारप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता व्यक्तिहरूको सकुशल फिर्तीको आशा व्यक्त गरेको छ।



