बारा जिल्लाको सिमरा क्षेत्रमा बुधबारदेखि सुरु भएको तनाव बिहीबार पनि शान्त हुन सकेको छैन। जेनजी समूहले नेकपा एमालेका नेता महेश बस्नेतलगायत नेताहरूलाई अवरोध गर्न खोज्दा सुरु भएको विवाद अहिले उग्र रूप लिएको छ।स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले विमानस्थल र आसपासका क्षेत्रमा दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। तर कर्फ्युको बाबजुद पनि जेनजी समूहले सडकमा प्रदर्शन जारी राखेका छन्। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गर्नुका साथै एक राउण्ड हवाई फायर गरेको जनाएको छ।
आन्दोलनका कारण पथलैया–परवानीपुर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। वीरगञ्ज भन्सार हुँदै आउने मालवाहक ट्रक र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू घण्टौँदेखि बाटोमै अलपत्र परेका छन्। भन्सारबाट दैनिक पाँच सयभन्दा बढी सवारीसाधन छुट्ने गरेपनि अहिले ढुवानी प्रभावित भएको छ। घटनामा संलग्न रहेको आरोपमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर–६ का अध्यक्ष कैमुद्दिन अन्सारी पक्राउ परेका छन्। यद्यपि, मुख्य आरोपित भनिएका अरविन्द साह पक्राउ नपरेको भन्दै जेनजी प्रदर्शनकारी थप आक्रोशित भएका छन्।



यसैबीच, सिमरा विमानस्थल बुधबार बन्द भएकोमा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल मानव अधिकार आयोगले घटनाप्रति ध्यानाकर्षण जनाउँदै शान्ति सुरक्षा मजबुत बनाउन र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। राजनीतिक नेताहरूले पनि संयमता अपनाउन आग्रह गरेका छन्। स्थिति अझै तनावग्रस्त रहेकाले प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।



