सिम्रौनगढ, बारा । बाराको सिम्रौनगढ नगरपालिकामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन्। घटना सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ शुक्रबार बिहान तिहारको तयारी स्वरूप माटो खन्दै गर्दा भएको हो। माटो खन्ने क्रममा अचानक ढिस्को खसेर छ जनालाई पुरेको प्रहरीले जनाएको छ।



स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएका मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चार गम्भीर घाइतेलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, कलैयामा पठाइएको बारा जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक र घाइतेहरूको सनाखत अझै नभएको जनाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
स्थानीय तह र प्रहरी प्रशासनले यस्ता खतरापूर्ण काम गर्दा आवश्यक सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेका छन्। आगामी चाडपर्वलाई मध्यनजर गर्दै माटो खन्ने कार्य तीव्र भए पनि सुरक्षा सावधानी नअपनाउँदा यस्ता दुःखद घटना दोहोरिन सक्ने चेतावनी समेत दिएका छन्।



