काठमाडौँ- क्षमताभन्दा बढी यात्रु बोकेको एउटा मिनीबस तीव्र गतिमा गुडेर काठमाडौँ महानगरपालिका वडा नं. १६, बालाजु बाइपास ओरालोमा दुर्घटनामा परेको छ। यस दुर्घटनामा परेर अधिकांश यात्रु घाइते भएका छन्।



पैयुँटारबाट रत्नपार्क जाँदै गरेको बा.१ ख ९४४८ नम्बरको उक्त मिनीबस आज बिहान करिब १० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। घाइतेहरूलाई तत्काल नजिकको मनमोहन मेमोरियल अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका लागि पठाइएको छ।
प्रत्यक्षदर्शीका अनुसार, बसमा क्षमताभन्दा बढी यात्रु थिए र चालकले पनि तीव्र गतिमा गाडी चलाएका थिए। “ओरालोमा तीव्र गतिमा गुडिरहेको बस अचानक अनियन्त्रित भई पल्टियो,” एक प्रत्यक्षदर्शीले बताए। प्रहरीले चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।



