काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई पार्टीको संसदीय दलको नेता चयन गरिएको छ। बिहीबार रास्वपा केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले बालेनलाई एकमतले संसदीय दलको नेता बनाउने निर्णय गरेको हो। पार्टी सभापति रवि लामिछाने ले वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव अघि सारेका थिए, जसलाई केन्द्रीय समितिले सर्वसम्मत रूपमा पारित गरेको हो। पार्टी स्रोतका अनुसार, यो निर्णयसँगै बालेनको प्रधानमन्त्री बन्ने सम्भावनामा पनि नयाँ मार्ग खुलेको छ।
रास्वपाका प्रवक्ता एवं सांसद मनिष झा ले बैठकको निर्णयलाई पुष्टि गर्दै भने, “केन्द्रीय समितिले सर्वसम्मत रूपमा बालेनलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। अब उनी पार्टीको संसदिय दलको नेतृत्व सम्हाल्नेछन्।” यस निर्णयपछि राजनीतिक विश्लेषकहरूले बालेनको नेतृत्वमा रास्वपा संसदमा कसरी आफ्नो रणनीति अघि बढाउनेछ भन्नेमा चासो व्यक्त गरेका छन्। यसै सन्दर्भमा, आगामी केही हप्तामा प्रधानमन्त्री चयनको प्रक्रिया र पार्टीको भूमिका निर्णायक बन्ने अनुमान गरिएको छ।






