काठमाडौं – प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध तथा दुई देशबीचको सैनिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्। भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।



सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा दुई देशका सेनाबीचको सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल भएको थियो।



