सत्तापलटसहित जेनजी आन्दोलनले राजनीतिक रुप धारण गर्न थालेसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध आक्रोशका स्वर सुनिन थालेका छन् । जेनजी आन्दोलनलाई प्रवद्र्धन गर्नेदेखि त्यसपछिको राजनीतिक व्यवस्थापनमा भूमिका खेलेका कारण बालेन फेरि ह्वात्तै चर्चामा आउनुभएको थियो । तर, समय वित्दै जाँदा आन्दोलनकै सहभागी र समर्थकहरु समेत बालेनविरुद्ध आक्रोशित सुनिन थालेका हुन् ।

मुलुककै ठूलो स्थानीय तहको मेयर हुनुका बाबजुद गुपचुप काम गरिरहे पनि जेनजी आन्दोलनलाई दिशानिर्देश गरेको ठानिएका बालेन शाहविरुद्ध पछिल्लो समय आक्रोश बढिरहेको छ । गुपचुप काम गर्ने र त्यसलाई फत्ते गर्ने स्वभाव र अस्वभाविक समर्थन व्यक्तित्वका कारण लुसिफरको संज्ञा पाइरहेका बालेनमाथि विस्तारै आक्रोशका स्वर सुनिन थालेका हुन् । अहिले उहाँलाई विरोध गर्नेहरुले विदेशी एजेण्ट वा लुसिफर भनिरहेको सुनिन्छ । विश्व राजनीतिमा लुसिफर शब्दलाई रहस्यमय र खलपात्रका रुमपा चित्रित गरिन्छ । त्यसैको सिको गर्दै मेयर बालेनलाई पनि लुसिफर भनिएको अनुमान लगाउन सकिन्छ । जेनजी आन्दोलन अघिसम्म शाहलाई समर्थन गरिरहेका कयौँ व्यक्ति अहिले अचानक उहाँमाथि आक्रोशित देखिन थालेका छन् ।

स्वतन्त्र रुपमै निर्वाचन जितेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जेनजी आन्दोलनपछि गठित नयाँ सरकारमा अपेक्षित रुपमा आफ्नो स्थान प्राप्त गर्न नसकेको भन्दै सामाजिक सञ्जालबाट चर्को असन्तुष्टि पोख्नुभयो । बालेनले नै आफूलाई प्रधानमन्त्री वा मन्त्री बन्न नदिएको ठम्याईमा साम्पाङ रुष्ट हुनुहुन्छ । जेनजी आन्दोलनलगत्तै नेपाली सेनासँग निरन्तर छलफल र सम्पर्कमा पुगेका व्यवसायी दुर्गा प्रसाईले पनि केही दिनयता बालेनविरुद्ध चर्को असन्तुष्टि जनाइरहनुभएको छ । केही समयअघिसम्म बालेन जस्तो मान्छे चाहिन्छ भन्दै हिँडेका प्रसाईलाई पनि बालेनले नै आफूलाई सरकारमा सहभागी हुन नदिएको महसुस भएको छ । यसले गर्दा उहाँ पनि बालेनको खरो विरोधमा उत्रिनुभएको अनुमान गर्न सकिन्छ ।

सरकारमा सहभागी हुने स्वार्थ बोकेका व्यक्तिहरु बाहेकमा पनि बालेनविरुद्ध आक्रोश देखिन थालेको छ । मुलतः जेनजी आन्दोलनकै अगुवाई गरेका वा सक्रिय सहभागिता जनाएका युवामध्ये कतिपय बालेनसँग सन्तुष्ट छैनन् । कयौँ युवा आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएको अवस्थामा बालेनले नै देशको नेतृत्व गर्नुपर्छ भन्ने माग राखेका थिए । तर मुलुक सरकारविहीनताको अवस्थामा पुगेको समयमा बालेनबाट उनीहरुले सकारात्मक संकेत प्राप्त नगर्दा आक्रोशित बनेका हुन् ।

केही व्यक्ति भने सुशीला कार्की नेतृत्वको सरकारमा बालेनका निकटक सहयोगी र सल्लाहकार मानिने ओमप्रकाश अर्याल गृहमन्त्री रहँदा पनि मुलुकको सकारात्मक गति लिन नसकेको भन्दै आक्रोश व्यक्त गर्न थालेका छन् । यद्यपि मन्त्री अर्यालले कतिपय ठाउँमा आफू बालेनबाट निर्देशत नभएको टिप्पणी गर्ने गरेको सुनिन्छ । खैर, जेनजी आन्दोलनले बालेनलाई काम गर्ने प्रसस्त अवसर जुटाएको समयमा बालेनले स्पष्ट अडान नलिँदा मुलुकमा भौतिक सम्पत्ति नष्ट हुने र विध्वंश मच्चिने बाहेक राजनीतिक अवस्था जस्ताको तस्तै रहेको भन्दै असन्तुष्टि जनाउने गरेका छन् । बालेन शाह आफैले भने यस्तो आरोप लगाउनेहरुलाई सामाजिक सञ्जालबाटै प्रतिबाद गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय