काठमाडौं । इजरायल र हमासबीच युद्धविरामको प्रस्तावले नयाँ आशा पलाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अगाडि बढाइएको यो ६० दिने युद्धविरामको प्रस्तावले दुबै पक्षलाई राजनीतिक तथा मानवीयरुपमा राहतको अपेक्षा गरिएको छ । नेपाली विद्यार्थी बिपिन जोशीको सम्भावित रिहाइसँगै यो प्रस्ताव नेपालको लागि पनि गम्भीर चासोको विषय बनेको छ । इजरायल हमाससँग युद्धविराममा जान सहमत भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दबाब तीव्र बन्दै जाँदा ६० दिने युद्धविरामका लागि इजरायल तयार भएको छ । हालसम्म हमासबाट कुनै प्रतिक्रिया आएको छैन ।

ट्रम्पको भूमिका र मध्यस्थता प्रयास

यो युद्धविरामको प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक सक्रियता उल्लेखनिय छ । ट्रम्पले अमेरिकी दूत स्टिभ विटकोफमार्फत इजरायली नेताहरू, विशेष गरी रणनीतिक मामिलासम्बन्धी मन्त्री रोन डर्मरसँग वार्ता अघि बढाए । ट्रम्पले मंगलबार सार्वजनिकरूपमा युद्धविरामका लागि इजरायल आवश्यक शर्तहरूमा सहमत भएको बताएका थिए । ट्रम्पले कतार र इजिप्टजस्ता शक्तिशाली क्षेत्रीय देशहरूको समेत समर्थन जुटाएर प्रस्ताव तयार गरेका थिए जसले हमाससँग संवादलाई सहज बनायो ।

६० दिनको युद्धविराम अवधिमा के–के हुनेछ ?

युद्धविरामको अवधिमा दुवै पक्षले आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन् । गाजामाथि इजरायली आक्रमण रोकिनेछ र हमासद्वारा इजरायलतर्फ रकेट आक्रमण निषेध गरिनेछ। यस अवधिमा मानवीय सहायता गाजामा सहज रूपमा प्रवेश गराइनेछ जसले खाद्यान्न, औषधि, पानी र आश्रयको व्यवस्थालाई सहज बनाउने अपेक्षा गरिएको छ । साथै, गाजाबाट घाइते तथा बालबालिकाको सुरक्षित निकासीको पनि अनुमति दिइनेछ । युद्धविरामको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको बन्धक र कैदी साटफेर हो । हमासले पहिलो चरणमा करिब १० जना जीवित इजरायली बन्धक तथा १५ देखि १८ शव फिर्ता गर्नेछ । यसको बदलामा इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । यो प्रक्रिया सफल भयो भने दोस्रो चरणमा स्थायी युद्धविरामका लागि व्यापक राजनीतिक सहमति खोज्ने प्रयास गरिनेछ । सम्भावित प्रस्तावमा युद्धपछिको गाजाको शासन, हमासको भूमिकाको अन्त्य, र अन्तर्राष्ट्रिय शान्ति पर्यवेक्षण संयन्त्रसमेत रहनेछ ।

बिपिन जोशीको अवस्था अज्ञात

सन् २०२३ अक्टोबर ७ मा गाजाबाट सिधै किबुत्ज अलोमिमबाट हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशी अझै फेला परेका छैनन् । उनको अन्तिम अवस्थाको प्रमाण गाजाको अल–शिफा अस्पतालको भिडियो फुटेज हो जहाँ उनी घाइते अवस्थामा देखिएका थिए । त्यसपछिको अवस्थाबारे कुनै आधिकारिक पुष्टि भएको छैन । बिपिनको परिवारले नेपालको परराष्ट्र मन्त्रालय, इजरायलस्थित नेपाली दूतावास, र विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग निरन्तर सम्पर्क गरिरहेको छ । हालको युद्धविरामको प्रस्तावमा यदि विदेशी नागरिक बन्धकहरूलाई प्राथमिकता दिइयो भने, बिपिन जोशीको रिहाइको सम्भावना बलियो बन्न सक्छ । यसका लागि नेपाली कूटनीतिक निकायले थप सक्रियता देखाउनु अत्यावश्यक छ ।

६० दिने युद्धविरामको प्रस्ताव केवल अस्थायी स्थिरताको प्रतीक होइन, यो मध्यपूर्वको द्वन्द्व समाधानतर्फको सम्भावित दीर्घकालीन प्रयासको एउटा महत्वपूर्ण खुड्किलो हो । डोनाल्ड ट्रम्पले पहल गरेर तयार पारेको यो प्रस्ताव इजरायल र हमास दुवैका लागि महत्वपूर्ण मोड बन्नेछ । विशेषगरी बन्धकहरूको सुरक्षाको सवाल र मानवीय राहतका लागि यो एउटा निर्णायक अवसर हो । नेपाली विद्यार्थी बिपिन जोशीको परिवारका लागि पनि यो युद्धविराम एक आशाको झिल्को बनेको छ । यदि कूटनीति सफल भयो भने बिपिन मातृभूमिमा फर्किने सपना पूरा हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय