असोज दोस्रो साता रोशीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको चार खण्ड मध्ये एक खण्डको निर्माण कम्पनी छानौट भएको छ ।

राजमार्गको पुर्ननिर्माणका लागि काभ्रेतर्फको चारसयबेसीदेखि डालाबेसीसम्म ८ दशमलब ५ किलोमिटर खण्ड सडक पुनर्निर्माणका लागि थानी/एवान/कमलजित जेभीले ठेक्का पाएको डिभिजन सडक भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सिडिई सुमन योगेशले जानकारी दिए ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर योगेशले काभ्रेपलाञ्चोकतर्फ पुनर्निर्माण हुने सडकमध्ये चारसयबेशी देखि डालाबेशीसम्मको साढे आठ किलोमिटर सडक पुनर्निर्माणका लागि निर्माण व्यवसायी कम्पनी छनोट भई सम्झौताको चरणमा रहेको बताए । ‘चारसयबेशी देखि डालाबेशी सम्मको सडक पुनर्निर्माणका लागि निर्माण कम्पनी छनौट भएके छ । अबको एक साताभित्र उक्त निर्माण व्यवसायी कम्पनीसँग सम्झौता हुनेछ’– योगेशले भने । । सडक खण्डको साढे आठ किलोमिटर सडक पुनर्निर्माणका लागि निर्माण व्यवसायीले भ्याटसहित एक अर्ब ४२ करोड रुपियाँ कबोल गरेको छ । कार्यालयले यो खण्ड पुनर्निर्माणका लागि २ अर्ब रुपैयाँको लागत अनुमान गरेकामा निर्माण कम्पनीले ३० प्रतिशत कम रकम प्रस्ताव गरेर ठेक्का पाएको हो। यो खण्ड पुनर्निर्माणका लागि ११ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए।

सिडिई योगेशले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको भकुण्डेबेशी देखि चारसयबेशीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माणका लागि प्राविधिक मूल्याङ्कनको काम भइरहेको जानकारी दिए । बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक पुनर्निर्माणका लागि पनि ११ कम्पनीले भाग लिएका छन्। यो खण्ड सडक जिभिजन कार्यालय खुर्कोटले हेरिरहेको छ ।

गत असोज दोस्रो साता रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गको भकुण्डेबेसी–नेपालथोक खण्ड क्षतिग्रस्त भएकाले ४ वटा प्याकेजमा ठेक्का आह्वान गरिएको थियो।

काभ्रेतर्फ भकुण्डेबेसीदेखि चारसयबेसीसम्म ११ दशमलब ८ किलोमिटर, चारसयबेसीदेखि डालाबेसीसम्म ८ दशमलब ५ किलोमिटर, डालाबेसीदेखि बर्खेखोलासम्मको ५ दशमलब ५ किलोमिटर र सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक चर खण्डमा विभाजन गरेर पुननिर्माण हुँदैछ ।

अप्ठ्यारो रहेको डालाबेसीदेखि बर्खेखोलासम्मको ५ दशमलब ५ किलोमिटर सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारले मिलेर गर्नेछन । डालाबेशी–वर्षेखोला सडक खण्डअन्तर्गत जाइकाले ३ दशमलव २ किलोमिटर पुनर्निर्माण गर्ने भएको छ भने २ दशमलव ३ किलोमिटर सडक नेपाल सरकार आफैले पुनर्निर्माण गर्नेछ । यस अघि डालाबेसीदेखि बर्खेखोलासम्मको ५ दशमलब ५ किलोमिटर सडक निर्माणका लागि जाईकालाई अनुरोध गरिएको थियो ।

भकुन्डेदेखि नेपालथोकसम्मको पुनर्निर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन (दुई लेन) सडक बनाउने गरी ठेक्का आह्वान भएको सिडिई योगेशले जानकारी दिए । बिपी राजमार्गमा हाल भएको सवारी चापले समेत दुई लेन सडकको आवश्यकता महसुस भएको जनाउँदै डिभिजन सडक भक्तपुरले निकट भविष्यमा धुलिखेलदेखि भकुन्डेसम्मको साथै बिपी राजमार्गमा दुई लेन सडक आवश्यक देखिएको जनाएको छ । कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ ।

क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणको लागि नेपाल सरकारबाट आठ अर्ब ५० करोडको बजेट सुनिश्चितता प्राप्त भएको छ भने उक्त रकमबाट काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब बजेट सुनिश्चितता आएको सडक डिभिजन भक्तपुरले जनाएको छ । सडक डिभिजनले वर्षायाम सुरु हुन लागेकाले वर्षाअघि क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणको काम सुरु नहुने जनाएको छ । कार्यालयले आगामी वर्षको वर्षायाम अघि पुनर्निर्माण गरिने सडक खण्डमा पर्खाल लगाउनेलगायतका कामहरु सम्पन्न गरी कालोपत्रेको काम बाँकी राख्ने लक्ष्यका साथ कामलाई तीव्रता दिने सिडिई योगेशले बताए ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख योगेशका अनुसार बिपी राजमार्ग अन्तरगतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय मिटर, कटुञ्जे घुमाउनेमा पाँच सय मिटर, लास्कोट बेशीमा दुईसय मिटर, चारसय बेसीमा पाँच सय मिटर, गिम्दीबेशीमा तीन सय मिटर, खार्पाचोक बेशीमा तीन सय मिटर, नार्केमा आठ सय मिटर, पिन्थलीबेशीमा चार सय मिटर, दाउन्नेमा तीन सय मिटर, मङ्गलटार बोक्सीकुनामा छ सय मिटर, चिउरीबासमा दुईसय मिटर, भ्याकुरेखोला कालढुङ्गामा एक किलोमिटर, डालाबेशीमा आठ सय मिटर, पिप्लको दुई स्थानमा गरी सात सय मिटर, माम्तीमा आठ सय मिटर, बर्खेखोला तीन समय मिटर, चालिसेमा चार सय मिटर सडक पूर्ण रूपमा ध्वस्त भएको थियो भने यी ठाउँमा अस्थायी डाईभर्सन निर्माण सुरु भएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३-५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिकरूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । जाइकाले उक्त राजमार्ग निर्माण गर्दा २६ अर्ब येन खर्च गरेको थियो ।

सडक डिभिजन भक्तपुरले आगामी वर्षायाममा बाढीबाट क्षति भई अस्थायी रुपमा सञ्चालन गरिएको विपी राजमार्ग अवरोध नहुने बताएको छ । सडक डिभिजनले बाढीले क्षति गरेको राजमार्गलाई अस्थायी रुपमा सञ्चालनमा ल्याएको छ भने वर्षाका कारण आउने बाढीले अस्थायी सडक क्षति हुन नदिनका लागि सडकलाई पहिलाको उचाईका अस्थायी फिलिङ गरी यातायात सञ्चालन गरेको जनाएको छ । सिडिई योगेशले अहिले अस्थायी रुपमा निर्माण गरिएको सडक गत असोजभन्दा अगाडिको बाढीले क्षति गर्न नसक्ने भए पनि असोजको जस्तो वर्षा र बाढी आएको खण्डमा उक्त सडक नजोगिने बताए। बाढीले क्षति गर्न सक्ने चौकीडाँडा, कटुञ्जेबेशी, मङ्गलटार, माम्तीमा हुन सक्ने क्षति रोक्नका लागि ग्याबिन जालीको पर्खाल खोलाका ठुला बोल्डर ल्याएर राखेकको सिडिई योगेशले जानकारी दिए ।

सडक डिभिजनले वर्षायाममा बाढीपहिरोका कारण हुन सक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउनका लागि सडक पुनर्निर्माणका लागि ठेक्का लागेको सडक खण्डमा निर्माण व्यवसायीको १५/१५ वटा उपकरणका साथै डिभिजनले डोजर, ट्रिपर, लोडरलगायतका सात वटा उपकरणहरु तयारी अवस्थामा राख्ने जनाएको छ ।

राजमार्गअन्तर्गत क्षतिग्रस्त स्थानमा अस्थायी रुपमा सडक निर्माण गरिएको भए पनि ठुलो बाढी आउदा क्षति गर्न सक्ने भएकोले मनसुन नाजिकिदै जाॅदा स्थानीय भने चिंतित छन ।

बीपी राजमार्गमा क्षति पुगेपछी स्थानीयको जीविकोपार्जनमा असर परेको रोशी गाउॅपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । “सडकको कारण पालिकालाई आर्थिक पाटोमा घाटा त छदै छ, तर यहाँका स्थानीयले उत्पादन गरेका तरकारी, दुग्ध पदार्थ बजार लान समस्या छ । उनले बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको पालिका भीत्र विभिन्न खण्ड दिगो रूपमा निर्माण गर्न सरोकारवाला निकायलाई आग्रह गरे ।

मुख्यसचिव एकनारायण अर्यालले बीपी राजमार्ग क्षेत्रमा बाढीले क्षति पुर्‍याएको पूर्वाधारको निर्माण वर्षा अगावै सक्न निर्देशन दिएका छन्। बुधबार क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्दै मुख्यसचिव अर्यालले सरोकारवाला निकायलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।

गत वर्ष आएको बाढीले बीपी राजमार्गमा पर्ने सडक बगाएको थियो। सडकसँगै थुप्रै भौतिक पूर्वाधारमा पनि क्षति पुर्‍याएको थियो। मुख्य सचिव अर्यालले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा, आयोजना प्रमुख र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समयमै काम सक्न निर्देशन दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय