बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको छैटौं शिखर सम्मेलन बैंकक सोचपत्र, २०३० जारी गर्दे सम्पन्न भएको छ । थाइल्याण्डको बैंककमा भएको शिखर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नारा अघि सार्दै बैंकक भिजनसहित छ बुँदै प्रस्ताव पारित गरेको हो । सोचपत्र प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठनको समझदारी पनि बनेको छ । बिमस्टेक प्रभावकारी बन्दा दक्षिण र दक्षिण एसियाली मुलुकबीचको कनेक्टिभिटी सहज हुने विश्वास लिइएको छ । नेपालकातर्फबाट प्रधानमन्त्री ओलीले जलवायु संकटबारे जानकारी गराउनुभएको थियो । त्यस्तै सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ बुँदे एक्सन प्लान गर्नुभएको थियो । के–के भयो छैटौं शिखर सम्मेलनमा ?



थाइल्याण्डमा सम्पन्न बिमस्टेक छैटौं शिखर सम्मेलनले बैंकक सोचपत्र, २०३० जारी गरेको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नारालाई आत्मसाथ गरेको छ । बैंकक भिजनसहितको छबुँदे प्रस्ताव पारित गर्दै दक्षिण र दक्षिणपूर्वी एसियालाई जोड्ने गरी सात देशका आपसी हितमा काम गर्ने विश्वास लिइएको छ ।
(छैटौं शिखर सम्मेलनले पारित गरेका प्रस्तावमा के छन् ?
–बिमस्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन
–बिमस्टेकको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरुको समूह (इपीजी) गठन
–म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता
–पर्यटन र संस्कृतिलाई प्राथमिकतामा राख्ने
–जनता–जनताको सम्पर्क विस्तार
–भूकम्पबाट प्रभावित म्यानमार र थाइल्याण्डलाई सहयोग गर्ने
शिखर सम्मेलनले आफ्नो योजना पारित गर्नुअघि
(सात सदस्य राष्ट्र नेपाल, थाइल्याण्ड, म्यानमार, भारत, भुटान, बंगलादेश र श्रीलंकाका प्रमुखहरुले सम्बोधन गरेका थिए ।)
नेपालकातर्फबाट सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिमस्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताउनुभयो । उहाँले समृद्धि, लचिलो र खुलापनजस्ता बिमस्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने उल्लेख गर्नुभयो । नेपालले हरेक अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनको असर छुटाउने गरेको छैन । यो सम्मेलनमा पनि प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा संकट सृजना गरेको उल्लेख गर्दै यहाँका हिमालयहरू एसियाका लागि पानीका स्रोत भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्याइरहेको तर आफ्नो न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको बताउँदै यसको प्रभाव पहाडमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको उल्लेख गर्नुभयो ।
उहाँले पहाडहरूको दुर्दशा र पहाड–महासागरबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’को पहिलो संस्करण आयोजना गर्न लागेको समेत बिमस्टेक राष्ट्रहरुलाई जानकारी गराउनुभएको थियो । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक शिखर सम्मेलनमा २१ बुँदे एक्सन प्लान प्रस्ताव गर्नुभएको थियो । एक्सन प्लानमा क्षमता अभिबृद्धि, युवा संलग्नता, कनेक्टिभिटी र संस्कृति, सुरक्षा र अन्तरिक्ष लगायतका विषय समावेश छन् । अन्य सदस्य राष्ट्रका प्रमुखहरुले पनि सम्बोधन गरेका थिए ।



