राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले मतदाताहरूलाई मतदान गर्नुअघि गम्भीर रूपमा सोच्न आग्रह गरेका छन्। बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भोटलाई नागरिकको सबैभन्दा ठूलो शक्ति भएको बताएका हुन्। लिङ्देनले मत भनेको अधिकार मात्र नभई शक्ति हस्तान्तरणको प्रक्रिया भएको उल्लेख गर्दै कसलाई त्यो शक्ति सुम्पिँदैछ भन्ने विषयमा सचेत हुनुपर्ने बताए। विगतमा मतदाताहरू विभिन्न प्रलोभन र क्षणिक आश्वासनमा प्रभावित भएको टिप्पणी गर्दै उनले यसपटक विवेकपूर्ण निर्णय गर्न आग्रह गरे।
उनले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सत्तामा रहेका दलहरूले आफ्ना कमजोरी सच्याउन नसके मुलुक कठिन अवस्थामा पुग्न सक्ने चेतावनी दिए। साथै, राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारी आवश्यक रहेको धारणा राखे। अध्यक्ष लिङ्देनले निषेध र द्वन्द्वको राजनीति अन्त्य गरी सहकार्य र सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिए। राप्रपालाई संसदमा बलियो उपस्थितिका रूपमा स्थापित गर्न सहयोग गर्न उनले मतदातासँग अपिल गरे।



भ्रष्टाचारविरुद्ध आफू सधैं स्पष्ट अडानमा रहेको दाबी गर्दै उनले आफ्नो राजनीतिक जीवनमा कुनै आर्थिक अनियमिततामा संलग्न नभएको बताए। विगतका केही ठूला परियोजनासम्बन्धी अनियमितता विषयमा आवाज उठाएको स्मरण गराउँदै उनले सुशासन र पारदर्शितामा जोड दिए। लिङ्देनले प्रमुख दलका समर्थकहरूलाई समेत एकपटक राप्रपाको चुनाव चिह्न ‘हलो’ मा मतदान गर्न आग्रह गर्दै प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ पार्टीलाई साथ दिन अपिल गरे।



