काठमाडौँ — राजधानीमा जारी जेनजी आन्दोलनको क्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमाथि आक्रमण भएको छ। मंगलबार दिउँसो उग्र बनेका प्रदर्शनकारीको समूहले मुख्य गेट तोडफोड गर्दै घरभित्र प्रवेश गरेका थिए। आक्रमणका क्रममा देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा घाइते भएको प्रारम्भिक विवरण आएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे यद्यपि आधिकारिक विवरण सार्वजनिक भएको छैन।



स्रोतका अनुसार सुरक्षाकर्मीले नियन्त्रणमा लिन प्रयास गरे पनि प्रदर्शनकारीको ठूलो भिडलाई रोक्न नसक्दा स्थिति नियन्त्रणबाहिर पुगेको हो। आक्रमणपछि सुरक्षाकर्मीले देउवा परिवारलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार, सरकारी बेथिति र नेताहरूको जीवनशैलीप्रति असन्तुष्टि जनाउँदै जेनजी युवाहरू पछिल्ला दिनहरूमा देशभर सडकमा उत्रिएका छन्। सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि आन्दोलन झनै उग्र बनेको छ।



