बुद्धिबहादुर बोहरा हत्या आरोपमा पक्राउ परेका विजय लामिछानेलाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ। घटनामा लुटिएको सुनको गहना खरिद गरेको आरोपमा पक्राउ परेका दीपक सुनार भने १ लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
आज मगंलबार जिल्ला अदालत लमजुङमा प्रतिवादीद्वयको बयान कार्य सम्पन्न भएपछि माननीय न्यायाधीश शिशिरराज ढकालको इजलासले विजय लामिछानेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।



लमजुङ बेसीशहर नगरपालिका–८ दनाईफाँटका ५७ वर्षीय बुद्धिबहादुर बोहरा गत असार २२ गतेदेखि हराएका थिए। असार २५ गते बेसीशहर नगरपालिका–१ स्थित भिरपानी सामुदायिक वनमा उनको शव फेला परेको थियो।
प्रहरी अनुसन्धानका क्रममा बोहोराको हत्या सुनका गहना लुट्ने उद्देश्यले गरिएको खुलेको थियो। प्रहरीले लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्दा बोहोराको हत्या गरी उनको सुनको सिक्री र औँठी लुटेको खुलेको जनाएको छ। लुटिएको सुन खरिद गरेको आरोपमा दीपक सुनारलाई समेत प्रहरीले पक्राउ गरेको थियो।



