काठमाडौं । बुद्ध जयन्तीको अवसरमा प्रमुख बौद्ध तीर्थस्थलहरूमा बिहानैदेखि श्रद्धालुको ठूलो भीड देखिएको छ । काठमाडौंको स्वयम्भू, बौद्धनाथलगायतका गुम्बा तथा विहारहरूमा दर्शन, पूजा–आराधना र धार्मिक गतिविधिहरू उत्साहपूर्वक सञ्चालन भइरहेका छन् ।
यस पावन दिनमा विभिन्न बौद्ध क्षेत्रहरूमा विशेष पूजा, प्रवचन, ध्यान साधना, दीप प्रज्वलन तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ । स्वयम्भूस्थित आनन्द कुटी विहारमा भगवान् बुद्धसँग सम्बन्धित पवित्र अस्तु धातु सर्वसाधारणका लागि दर्शनार्थ राखिएको छ, जसका कारण त्यहाँ भक्तजनको लामो लाइन लागेको देखिन्छ ।



गुम्बाहरूमा भिक्षु तथा भिक्षुणीहरूले शान्तिपाठ गर्दै ध्यान साधना गरिरहेका छन् भने श्रद्धालुहरू स्तूपको परिक्रमा गर्दै आध्यात्मिक शान्तिको अनुभूति लिइरहेका छन् । बौद्धनाथ क्षेत्रमा पनि दीप प्रज्वलन गर्दै भक्तजनहरूले देश र विश्वमा शान्ति, समृद्धि र सद्भाव कायम होस् भन्ने कामना गरेका छन् ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती भगवान् बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनामा मनाइन्छ । बुद्धले अहिंसा, करुणा र मध्यम मार्गको शिक्षा दिनुभएको थियो, जसले मानव समाजलाई शान्तिपूर्ण र नैतिक जीवनतर्फ डोर्याउने प्रेरणा दिएको छ ।
इतिहासअनुसार, करिब २५७० वर्षअघि कपिलवस्तुका राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा जन्मनुभएका सिद्धार्थ गौतमले बोधगयामा ज्ञान प्राप्त गर्नुभएको थियो । त्यसपछि सारनाथमा पहिलोपटक धर्मचक्र प्रवर्तन गर्दै उहाँले आफ्नो शिक्षाको प्रसार गर्नुभयो । साथै कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभयो ।
यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । विभिन्न संघसंस्था, धार्मिक निकाय र समुदायहरूले शान्ति, सहिष्णुता र मानवताको सन्देश फैलाउने उद्देश्यले विविध कार्यक्रम आयोजना गरेका छन् ।



