काठमाडौं । बूढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले सर्वोच्च अदालतको निर्णय जानाजान अवज्ञा गर्ने कार्य नभएको लिखित जवाफ पेस गर्नुभएको छ । अदालतको संवैधानिक इजलासको अन्तरिम आदेशको अवज्ञा गरेको भन्दै अधिवक्ता कृष्णराज अर्यालले नगरपालिकासहितलाई विपक्षी बनाई दायर गरेको अवहेलनासम्बन्धी निवेदनमा लिखित जवाफ माग गरेको थियो ।
अदालतलाई बुझाइएको लिखित जवाफमा अदालतको आदेशको अवज्ञा नगरेको भन्दै अवहेलनासम्बन्धी निवेदन खारेज गर्न माग गरिएको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको संवैधानिक इजलासले २०८१ साउन २३ गते गुठी संस्थान ऐन, २०३३ अनुसार बूढानिलकण्ठ नारायण मन्दिरको सञ्चालन र व्यवस्थापन गर्ने गुठी संस्थानको अधिकारमा हस्तक्षेप गर्ने, बाधा व्यवधान खडा गर्नेलगायतका कुनै कार्य नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।



नगरपालिकाले गठन गरेको बूढानिलकण्ठ क्षेत्र विकास समितिले २०८० चैत २ मा बूढानिलकण्ठ नारायण व्यवस्थापन समितिलाई बूढानिलकण्ठ मन्दिर क्षेत्रबाट दान पेटिका हटाउन पत्राचार गरेको थियो । उक्त पत्र कार्यान्वयन नगर्न अदालतले भनेको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्ने भनी रोक लगाउदा पनि अदालतको आदेश विपरीत काम गरिरहेको भन्दै संवैधानिक इजलासमा अदालतको अवहेलनासम्बन्धी निवेदन परेको थियो ।



