नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार गरिएको हो। बाढीका कारण घर पुरिएपछि ती महिला घरभित्रै फसेकी थिइन्। उद्धारका लागि खटिएको सुरक्षाकर्मीको टोलीले खोजी तथा उद्धार गरी उनलाई सुरक्षित रूपमा बाहिर निकालेको हो।
यसअघि नेपाली सेनाको टोलीले रसुवास्थित २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक जना चिनियाँ नागरिकको समेत उद्धार गरेको थियो। बाढीका कारण आयोजनाको सुरुङ तथा आसपासका क्षेत्रमा कामदार सम्पर्कविहीन भएपछि नेपाली सेना तथा उद्धार टोलीले खोजी अभियान सञ्चालन गर्दै आएको छ।



त्यस्तै, यसअघि त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको उद्धार गरिएको थियो। बाढीका कारण प्रभावित विभिन्न क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले खोजी र उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। पछिल्लो समय नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण जनधनको क्षति भएको छ। सडक, पुल तथा भौतिक संरचनामा क्षति पुग्दा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउनसमेत चुनौती देखिएको छ।



