काठमाडौं । बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एडवार्ड र उनकी श्रीमती डचेज सोफी नेपालको भ्रमणमा आएपछि दुई देशबीचको पुरानो सम्बन्ध पुनः ताजा भएको छ । इतिहास हेर्ने हो भने बेलायती शाही परिवारका सदस्यहरू नेपाल आएर यहाँको संस्कृति, प्राकृतिक सौन्दर्य र विशेषगरी गोर्खा सैनिकहरूसँगको सम्बन्धलाई सम्मान गर्दै आएका छन् । राजा जर्ज पाँचौंदेखि राजकुमार ह्यारीसम्म बेलायती राजपरिवारको नेपाल भ्रमण सधैं चर्चाको विषय रहँदै आएको छ । एडिनबर्गका ड्युक र डचेजको यो भ्रमण पनि नेपाल–बेलायत सम्बन्धलाई अझ मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ । नेपालका गोर्खा सैनिकहरूसँगको सम्बन्ध, सामाजिक परियोजनाहरूको अवलोकन र ऐतिहासिक नाता पुनःस्मरण गर्दै यो यात्रा विशेष बन्ने अपेक्षा गरिएको छ । नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक रूपमा गहिरो रहँदै आएको छ । दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध १८१६ मा सुगौली सन्धिपछि स्थापना भएको थियो । त्यसयता बेलायती राजपरिवारका सदस्यहरू पटक–पटक नेपाल भ्रमणमा आएका छन् । जसले नेपाल–बेलायत सम्बन्धलाई थप सुदृढ बनाएको छ ।

नेपालमा हालसम्म बेलायती राजपरिवारबाट भएको उच्चस्तरीय भ्रमण 

– १९११ः राजा जर्ज पाँचौं (King George V) डिसेम्बर १९११ मा नेपाल आए। प्रधानमन्त्री चन्द्र शमशेर जङ्ग बहादुर राणाको आतिथ्यतामा आयोजित सिकार कार्यक्रममा सहभागी भए । सो क्रममा १० दिनमा ३९ वटा बाघ, १८ वटा गैंडा र ४ वटा भालु मारिएको थियो ।

– १९२२: वेल्सका राजकुमार एडवर्ड (पछिका राजा एडवर्ड आठौं) नेपाल आए । उनले आफ्नो पहिलो गैंडा र बाघ शिकार गरेका थिए । उनलाई एउटा सानो हात्ती र गैंडाको बच्चा उपहार दिइएको थियो । जुन पछि लण्डन चिडियाखानामा पठाइयो ।

– १९६१ः रानी एलिजाबेथ द्वितीय (Queen Elizabeth II) र राजकुमार फिलिप (Prince Philip) फेब्रुअरी २६ देखि मार्च २ सम्म नेपालको राजकीय भ्रमणमा आए । यो भ्रमणको क्रममा उनीहरूले राजा महेन्द्रको आतिथ्यमा हात्तीमा चढेर बाघ शिकार अवलोकन गरेका थिए । भ्रमणमा आधिकारिक स्वागत, मन्दिर र बजारको भ्रमण, बाघको शिकार र राज्य भोज समावेश थियो । महारानी र राजकुमार फिलिपले विश्वयुद्धमा सेवा गरेका बेलायती गोर्खा सैनिकहरूलाई भेटे ।

– तत्कालिन राजा वीरेन्द्रको राज्य भिषेकमामा सहभागी हुन सन् १९७५ मा युवराज चाल्स नेपालमा आएका थिए । उनी पाँच दिन नेपालमा थिए ।

– १९८०: युवराज चाल्स नेपाल आए । नेपालको विभिन्न जिल्ला घुम्दै बेलायती सहयोगका निर्माण भएका परियोजनाहरुको अवलोकन गरे ।

– १९८६ः रानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिप चार–दिनको नेपाल भ्रमणमा आए । उनीहरूले गोर्खा भूतपूर्व सैनिकहरूसँग भेट गरे र राजा वीरेन्द्र तथा रानी ऐश्वर्याले उनीहरूलाई स्वागत गरे ।

– १९९३ः वेल्सकी राजकुमारी डायना (Princess Diana) नेपाल आइन् । उनले ब्रिटिश रेड क्रस युथ तथा कुष्ठरोग मिसनको संरक्षणमा रहेका परियोजनाहरू अवलोकन गरिन् । साथै, उनले तेह्रथुमस्थित गोर्खा वेलफेयर ट्रस्टको केन्द्र पनि भ्रमण गरिन् ।

– १९९८ः राजकुमार चाल्र्स (हालका राजा चाल्स तृतीय) नेपाल आए । उनले माईती नेपाल भ्रमण गरे । जुन मानव बेचबिखनविरुद्ध कार्यरत संस्था हो । पछि उनले आफ्नो चित्रकलाबाट ७८,००० पाउण्ड संकलन गरी संस्थालाई सहयोग गरेका थिए । नेपालको औपचारिक भ्रमण गरि द्विपक्षिय वार्तासमेत भएको थियो ।

– सन् २००२ मा राजकुमार फिलिपले नेपालको निजी भ्रमण गरेका थिए । राजकुमार फ्लिपको भ्रमणको दुई सातापछि राजकुमारी आनेले नेपालको भ्रमण गरेकी थिइन् ।

– २०१६ः राजकुमार ह्यारी (Prince Harry) नेपाल–युके कूटनीतिक सम्बन्धको २ सयऔं वार्षिकोत्सव मनाउन नेपाल आए । उनले २०१५ को भूकम्प प्रभावित क्षेत्रहरूको भ्रमण गरे र एक विद्यालय पुनर्निर्माण गर्न स्वयंसेवकको रूपमा काम गरे ।

– २०२५ः एडिनबरा राजकुमार तथा राजकुमारी (Prince Edward & Duchess Sophie) फेब्रुअरी ४ देखि ९ सम्म नेपाल भ्रमण ।

नेपालका विभिन्न राजाहरू, प्रधानमन्त्रीहरू बेलायत भ्रमणमा गएका छन् । जसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ ।

नेपालबाट बेलायतमा भएका उच्चस्तरीय भ्रमण

– प्रधानमन्त्री जंगबहादुर राणाको सन् १९५० को बेलायत भ्रमण ।

– नेपालबाट राजा महेन्द्र शाहले १९६० मा बेलायतको भ्रमण ।

– राजा विरेन्द्र शाहले १९८० र १९९५ मा बेलायतको भ्रमण ।

– पूर्व राजा ज्ञानेन्द्र शाहले सन् २००३ मा उपचारका लागि बेलायत भ्रमण ।

– युवराज शाहको हैसियतमा दीपेन्द्र र पारसले पनि बेलायतको भ्रमण ।

– पारस शाह सन् २००२ मा महारानी एलिजावेथ प्रथमको अन्त्येष्टिमा सहभागी हुन बेलायत ।

– सन् १९९५ मा प्रधानमन्त्री मनमोहन अधिकारी बेलायतको भ्रमण गरी त्यहाँको ल्यांकास्टर हाउसको बैठकलाई सम्बोधन ।

– सन् १९९६ मा प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायतमा औपचारिक भ्रमण ।

– सन् १९९९ मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अमेरिका भ्रमणबाट फर्कने क्रममा बेलायत भ्रमण ।

– सन् २००२ मा पनि प्रधानमन्त्रीको हैसियतमा देउवाको दोस्रो पटक बेलायतको भ्रमण ।

– २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण ।

नेपाल–बेलायत सम्बन्ध दुई शताब्दीदेखि निरन्तर रहँदै आएको छ । बेलायती राजपरिवारका सदस्यहरू नेपाल भ्रमणमा आउँदा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा ऐतिहासिक सम्बन्ध झल्किन्छ । नेपालबाट बेलायत भएका भ्रमणहरूले पनि दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय