काठमाडौं । ब्राइट फ्युचर सेकेण्डरी स्कुलले आफ्नो ३९औं वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई शिक्षाको गहिरो अर्थ र सामाजिक उत्तरदायित्वसँग जोडिएको उत्सवका रूपमा मनाएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १४ नैकापस्थित यस विद्यालयको तीन दिनसम्म संचालन हुने कार्यक्रममा आफ्नो शैक्षिक योगदान, संस्कारमुखी अभ्यास र समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रयत्न गरेको छ ।
वार्षिकोत्सवको पहिलो दिन प्रमुख अतिथि रामबाबु सुवेदीले शिक्षाको सार केवल पाठ्यपुस्तकमा सीमित नरहेको उल्लेख गर्दै बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका निर्णायक भएको बताउनु भयो । उहाँले परीक्षा केन्द्रित शिक्षाभन्दा व्यवहारिक र मनोवैज्ञानिक रूपमा सुदृढ शिक्षण पद्धति आवश्यक रहेको औंल्याउनु भयो । ‘बालबालिकालाई डर होइन, प्रेरणाले सिकाउनुपर्छ,’ भन्ने उहाँको भनाइले उपस्थित अभिभावक र शिक्षकलाई गहिरो सन्देश दिएको थियो ।




यस्तै विद्यालयका प्रध्यानाध्यापक दयाराम थापाले २ सय विद्यार्थी र ८ शिक्षकबाट सुरु भएको विद्यालय आज १८ सयभन्दा बढी विद्यार्थी र २ सयभन्दा बढी दक्ष शिक्षकको सहकार्यमा अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले विद्यालयले केवल परीक्षा नतिजामा मात्र होइन, चरित्र निर्माण, अनुशासन, सिर्जनशीलता र जीवनोपयोगी सीपमा पनि उत्तिकै जोड दिँदै आएको उल्लेख गर्नुभयो । ‘हाम्रो लक्ष्य राम्रो अंक मात्र होइन, सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्नु हो’ उहाले स्पष्ट पार्नुभयो ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले नेपाली धर्म, संस्कृति, भेषभूषा र जीवनशैली झल्काउने विविध प्रस्तुति दिएका थिए, जसले विद्यालयको संस्कारमुखी शिक्षण पद्धतिलाई उजागर गरेको थियो । विशेष रूपमा, अभिभावक आमाहरूको पहिलोपटक स्टेजमा गरिएको नृत्य प्रस्तुतिले विद्यालय र अभिभावकबीचको आत्मीय सम्बन्धलाई जीवन्त बनायो–जहाँ शिक्षा केवल कक्षा कोठामा सीमित नरही परिवार र समाजसँग जोडिएको देखिन्छ ।

यसैगरी चैत्र २८ गते शनिबार दोस्रो दिन मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेको उपस्थितिमा विद्यालयको परिचय समेटिएको पुस्तक विमोचन गरिनेछ, जसले संस्थाको यात्रा, दर्शन र उपलब्धिहरूलाई दस्तावेजका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
अन्तिम दिन, विद्यालयका पूर्वविद्यार्थी तथा प्रतिनिधि सभा सदस्य भूमिका श्रेष्ठ र चर्चित नायिका प्रियंका कार्कीलाई सम्मान गरिने कार्यक्रमले यस संस्थाले उत्पादन गरेका प्रतिभाहरूको सामाजिक योगदानलाई उजागर गर्नेछ । साथै लोकप्रिय गायक आनन्द कार्कीलगायतका कलाकार तथा विद्यार्थीहरूको सांगीतिक प्रस्तुति कार्यक्रमलाई थप आकर्षक बनाउने छ ।
यस अवसरमा विद्यालयले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै मेहनत, अनुशासन र लगनशीलताको मूल्यलाई उच्च स्थान दिएछ । समग्रमा, ब्राइट फ्युचर सेकेण्डरी स्कुल केवल शिक्षण संस्था नभई अभिभावक, विद्यार्थी र शिक्षकबीच विश्वास, सहकार्य र प्रेरणाको साझा मञ्चका रूपमा उभिएको छ । यहाँको वातावरणले अभिभावकलाई आश्वस्त बनाउँछ भने विद्यार्थीलाई आत्मविश्वासी र सिर्जनशील बनाउने दिशामा डोर्याएको छ । यही कारणले यो विद्यालयप्रति समुदायको आकर्षण र भरोसा दिनप्रतिदिन अझ सुदृढ बन्दै गएको छ ।



