काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–१० अन्तर्गत रिठा बजार नजिक यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । दुर्घटनामा परेका सबै घाइतेको उद्धार गरी विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पवनदूत यातायातको सुपप्र ०२–००१ ख १३५५ नम्बरको बसमा ब्रेक समस्या आएपछि नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने जनाएको छ । दुर्घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी तथा यात्रुहरू उद्धार कार्यमा जुटेका थिए ।

घटनास्थलबाट प्राप्त तस्बिरमा बस सडकको किनारतर्फ पल्टिएको देखिन्छ । बस पूर्ण रूपमा सडकबाट तल नखसेको भएपनि पल्टिँदा यात्रुहरू घाइते भएका छन् । दुर्घटनापछि घटनास्थलमा सर्वसाधारण र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले दुर्घटनामा घाइते भएका २४ जनामध्ये २३ जनालाई जिल्ला अस्पताल बाजुरा र एक जनालाई अछामस्थित बयलपाटा अस्पताल पठाइएको जानकारी दिनुभयो । बसमा चालकसहित ३५ जना सवार रहेको जनाइएको छ ।

दुर्गम पहाडी भूगोल, साँघुरा सडक र सवारी साधनको प्राविधिक अवस्थाले सुदूरपश्चिमका जिल्लाहरूमा सडक दुर्घटनाको जोखिम उच्च रहने गरेको छ ।

हालसम्म दुर्घटनामा मानवीय क्षतिको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय