काठमाडौं – पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परेका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) को निधन भएको उनको संस्था इलाइट एक्सपेडले पुष्टि गरेको छ। संस्थाले सामाजिक सञ्जालमार्फत पुर्जाको निधन भएको जानकारी सार्वजनिक गरेको हो। बिहीबार बिहान ब्रोड पिकको क्याम्प–३ नजिक करिब ६,६०० मिटर उचाइमा गएको हिमपहिरोमा पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली परेका थिए।
पाकिस्तानी सञ्चारमाध्यम जियो न्युज का अनुसार टोलीका आठ जनाको शव फेला परिसकेको छ भने दुई जना अझै बेपत्ता छन्। फेला परेका शवमध्ये ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपालका पुरबहादुर गुरुङ (युक्त) र अमेरिकी म्यालोरी गीसको पहिचान भएको छ। अन्य शवहरूको पहिचान प्रक्रिया जारी रहेको जनाइएको छ।



घटनामा नेपालका किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा, पाकिस्तानका सोहेल सखी तथा चीनका वाङ झोङ पनि आरोहण टोलीमा सहभागी थिए। हिमपहिरोमा परेका १० जनामध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए।
प्रतिकूल मौसमका कारण केही समय प्रभावित भएको खोजी तथा उद्धार कार्य शनिबारदेखि पुनः तीव्र पारिएको छ। मिङ्मा ग्याबु शेर्पाको नेतृत्वमा नेपाली उद्धार टोली ब्रोड पिक आधार शिविर पुगिसकेको छ भने सरबाज खानको नेतृत्वमा स्थानीय उद्धार टोलीले पाकिस्तानी सेनाको हेलिकप्टर तथा स्थलमार्गबाट खोजी अभियान सञ्चालन गरिरहेको छ। बेलायती उद्धार टोली पनि पाकिस्तान पुग्ने क्रममा रहेको जनाइएको छ।
उद्धार टोलीका अनुसार ड्रोनबाट प्राप्त दृश्यमा हिमालको माथिल्लो भागमा थप शव देखिएको संकेत मिले पनि बाक्लो हिमपात, खराब मौसम, कठिन भूभाग तथा थप हिमपहिरोको जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
पाकिस्तानको अल्पाइन क्लबकी नायला कियानीका अनुसार आरोहीहरूले प्रयोग गरेको जीपीएस ट्र्याकिङ उपकरणबाट प्राप्त प्रारम्भिक तथ्यांकले उनीहरू पहाडको किनारबाट सयौं मिटर तल खसेको संकेत गरेको छ।
निर्मल पुर्जा विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा छोटो समयमा आरोहण गर्ने कीर्तिमानी नेपाली पर्वतारोहीका रूपमा परिचित थिए। उनले पछिल्ला वर्षहरूमा अक्सिजनबिनाको आरोहण अभियानसहित विभिन्न अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियानको नेतृत्व गर्दै आएका थिए।



