काठमाडौं । भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अन्डरपास निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले निर्माण गरिरहेको यस अण्डरपासले सवारी आवागमनलाई सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।



आयोजनाका अनुसार अन्डरपासको कुल लम्बाइ १,११० मिटर हुनेछ । यसमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ। अन्डरपासको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहने योजना छ ।
अन्डरपासभित्रै २० मिटर लामो पुल पनि निर्माण गरिने आयोजनाले जनाएको छ । पुल र अन्डरपासको संयोजनले राजमार्गमा सवारीसाधनको गतिशीलता बढाउनेछ र दुर्घटना जोखिम घटाउनेछ ।
निर्माण कार्य सम्पन्न भएपछि सडकमा जाम र ट्राफिक व्यवस्थापन सहज हुने विश्वास गरिएको छ। आयोजनाको अन्तिम चरणसम्म पुग्न केही वर्ष लाग्ने अनुमान छ, तर हाल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ ।



