काठमाडौं । आज भाद्रकृष्ण अष्टमी । भगवान श्रीकृष्णको जन्मदिन । पुराणमा द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको भनि उल्लेख गरिएको छ ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान अहिले पनि प्रसिद्ध छ । आफूले गरेको कर्मअनुसार नै फल प्राप्त हुने, गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने गीताको सन्देश छ ।



जन्माष्टमीका दिन भगवान् कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्म समयको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने प्रचलन छ । विशेषगरी द्वादशाक्षरी (ॐ नमो भगवते वासुदेवाय) मन्त्रले उनको आराधना गर्नुपर्ने बताइएको छ । नेपाल र भारतमा रहेका कृष्ण मन्दिरमा आजको दिन भक्तजनको घुइँचो लाग्छ । नेपालमा पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।
ललितपुरका १७औँ शताब्दीका राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबार अगाडि विक्रम संवत् १६९३ मा राधा र कृष्णको मूर्ति स्थापना गरी २१ गजुरयुक्त शिखर शैलीमा ढुंगामात्र प्रयोग गरी कृष्ण मन्दिर बनाउनु भएको थियो ।



