नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ को घटनालाई सुनियोजित भन्दै विरोध गर्नुभएको छ । आज जारी प्रेस विज्ञप्तिमा अध्यक्ष ओलीले २०८२ भदौ २४ गते लोकतन्त्र विरोधी तत्वले सुनियोजित रूपले लोकतन्त्रमाथि आक्रमण गरेको बताउनु भयो । उहाँले भदौ २४ लाई राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि भएको सर्वाधिक ठुलो आक्रमण र विध्वंश भन्नुभयो ।
कहालीलाग्दो विध्वंशपछि पुनर्निर्माणको प्रयासमा रहनुभएका राजनीतिक(सामाजिक व्यक्तित्व एवं व्यवसायीमा पुनरुत्थानको शुभेच्छा व्यक्त पनि गर्नुभएको छ । नेपालले छोटो अवधिमा लोकतन्त्र स्थापना, द्वन्द्वको शान्तिपूर्ण समाधान, पूर्वाधार निर्माण, सामाजिक न्याय र सुरक्षा, भूकम्पपछिको पुनर्निर्माण एवं राष्ट्रिय स्वाभिमानको रक्षा जस्ता प्रश्नमा ऐतिहासिक उपलब्धि हासिल गर्दै आएको यथार्थ सबैलाई अवगत नै भएको पनि उहाँले चर्चा गर्नुभयो । गतवर्ष भदौमा देशमा जे जस्ता घटनाहरु घटित भए, ती असामान्य, अस्वाभाविक र अलोकतान्त्रिक भएका पनि उहाँको दाबी छ ।






