भारत हिमाचल प्रदेशको सिमलामा पहिरोले पुरिएर १६ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार सिमलामा ९ र सोलनमा ७ जनाको मृत्यु भएको हो । पहिरोले सिमलाको समर हिलमा रहेको शिव मन्दिर भत्किएको छ । मन्दिरको भग्नावशेषबाट ९ जनाको शव निकालिएको बताइएको छ । त्यहाँ झण्डै ५० जना पुरिएको अनुमान छ । साउने सोमबारको पूजा गर्न मन्दिरमा भेला भएकाहरु पहिरोमा पुरिएका हुन् ।
हिमाचल प्रदेशमा भारी वर्षा र पहिरोले जनजीवन प्रभावित भएको छ । केही जिल्लामा लगातार ४८ घण्टादेखि वर्षा भइरहेको छ । नदी र खोलामा बाढी उर्लिएको छ । सडक भत्किएर यातायात आवागमन प्रभावित भएको छ । हिमाचल प्रदेशको जनजीवन अस्तव्यस्त र सडकहरु अवरुद्ध भएकाले घर बाहिर ननिस्किन प्रशासनले आग्रह गरेको छ ।






