काठमाडौं । भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दज्यार्नी चिह्न प्रदान गरिंदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो पौने २ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा मानार्थ महारथीको सम्मान दिन लाग्नुभएको हो ।
पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका सेनाध्यक्ष द्विवेदी बुधबार काठमाडौं आइपुगेका हुन् । सेनाध्यक्ष बनेपछि पहिलो विदेश भ्रमण गर्नुभएको द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच सम्मान दिनुअघि औपचारिक द्विपक्षीय वार्ता हुनेछ । भेटमा दुई देशका सैनिकबीच पारस्परिक सहकार्य तथा हितका विषयमा छलफल हुनेछ ।काठमाडौं ओर्लिए लगत्तै द्विवेदीले पशुपतिनाथको दर्शन गर्नुभएको थियो । भोलि प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेट गर्नुहुनेछ भने शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजमा शिक्षार्थीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



शनिबार मुक्तिनाथ मन्दिरको दर्शन गरी पोखराको पश्चिम पृतना हेडक्वार्टर पुग्ने र भारतीय पेन्सन वितरण अफिसमा भूतपूर्व भारतीय गोर्खा सैनिकहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।



