काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडक खण्डमा फास्ट ट्र्याक आयोजनामा प्रयोग हुँदै आएको पिकअप गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।



बा.प्र.०१–०३३ च २१४४ नम्बरको पिकअप गाडी अनियन्त्रित भई करिब एक सय फिट तल खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी अन्दाजी ४२ वर्षीय बोधराज बुढाथोकी र फास्ट ट्र्याक आयोजनामा कार्यरत बारा पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय इन्जिनियर सूर्य यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । तर गम्भीर चोटका कारण दुवै जनाको ज्यान जोगाउन नसकिएको जनाइएको छ ।
प्रहरीले दुर्घटनाको विस्तृत विवरण संकलन गरी आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ ।



