काठमाडौं । महाँकाल स्थान सामुदायिक वनमा आगजनी भएको छ । आज दिउँसो करिब ४ बजे महादेवस्थान मातातीर्थ खानेपानी समितिले संचालन गरेको महाँकाल बोरिङ सल्लाघारी भन्दा माथी आगलागी भएको हो । उक्त आगलागीबाट केही रुखहरु जलेका छन् ।
वन क्षेत्रमा आगो लागेको थाहा पाउना साथ सामुदायिक वनका पदाधिकारीहरु, वन हेरालु, नेपाल प्रहरी र चन्द्रागिरि नगरपालिकाको नगर प्रहरीको टोलीले आगो लागेको स्थानमा पुगेको थियो । उक्त टोलीहरुको अथक प्रयाससँगै आगो नियन्त्रणमा आएको थियो ।




वन हेरालु रमेश खत्रीले आगो लाग्दा आफु वन क्षेत्रमै रहेको र आफुले समितिका पदाधिकारीहरुलाई जानकारी गराएपछि उहाँहरुलगायत सुरक्षकर्मीको टोली आएर संयुक्तरुपमा आगो नियन्त्रणमा लिन सफल भएको बताउनु भयो ।
समूहका अध्यक्ष निराजन महतले आवश्यक औजारको अभाव हुँदा आगो नियन्त्रणका लागि केही कठिनाई हुन पुगेको बताउनु भयो । उहाँले सव डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय र स्थानीय निकायलाई आगो नियन्त्रणका लागि आवश्यक पर्ने औजारहरु सामुदायिक वनलाई उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।
समितिका कोषाध्यक्ष कपिन्द्र महतले वन क्षेत्रमा आगो लगाउने व्यक्तिको खोजी भइरहेको र ती व्यक्तिलाई वन ऐनअनुसार कारवाही हुने बताउनु भयो ।



