काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । परिसरले कानूनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन बुझाएको हो ।
आइतबार नै प्रतिवेदन बुझाउने भनिए पनि प्राविधिकले बुझाउन नसकिएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी गराउनु भयो । घटनामा एमाले नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेकपा एमालेका उपाध्यक्ष तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् ।



यसैगरी हज समितिका अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, पूर्वसभासद् आङटावा शेर्पा, सन्दीप रायमाझीसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । नेकपा एमाले उपाध्यक्ष बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका केही व्यक्ति फरार छन् ।
भुटानी शरणार्थी प्रकरणमा १०६ पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेपछि यो ठगी काण्ड बाहिर आएको थियो । ठगी र संगठित अपराधमा १६ जनालाई हिरासतमा राखि प्रहरीले अनुसन्धान गरिरहेको छ ।



