सल्यान- सल्यानमा जिप भेरी नदीमा खस्दा बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बेपत्ता हुनेमा जिप चालक दाङका २३ वर्षीय हेमराज बीसी र सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षीय भीमबहादुर राना रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो।
आज छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो। प्रहरीका अनुसार जिप बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा दुर्घटनामा परेको थियो।



दुर्घटनामा जिपमा सवार अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा वनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम विक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी रहेका छन्। उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बेपत्ता दुई जनाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



