भोजपुर जिल्ला अन्तर्गत रामप्रसाद गाउँपालिका–२ धोद्लेखानीमा आइतबार राति भएको एक जघन्य घटनामा एकै परिवारका चार सदस्यको हत्या भएको छ। प्रारम्भिक जानकारी अनुसार, घटनामा संलग्न रहेको आरोपमा पीडितकै ज्वाइँ राजेन्द्र राई पक्राउ परेका छन्। उनी आफैँ पनि गम्भीर घाइते अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार, राति करिब १ बजेतिर राजेन्द्र राईले आफ्ना ससुरा, सासू, पत्नी र सान्नानीको छुरा प्रहार गरी हत्या गरेका हुन्। हत्या गरिएका व्यक्तिहरूमा ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया मनिषा गिरी र ९ वर्षीय बालक सपन गिरी रहेका छन्।



हतापछि आरोपी राजेन्द्र राईले प्रहरीलाई फोन गरी ‘मैले चार जनालाई छुरा प्रहार गरेको छु’ भन्दै जानकारी दिएका थिए। प्रहरी घटनास्थलमा पुगेपछि घाइते अवस्थाका राईलाई उद्धार गरी भोजपुर अस्पतालमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिएको छ।
राजेन्द्रले दिएको प्रारम्भिक बयान अनुसार, रातिको समयमा सासूले आफूमाथि आक्रमण गरेकी थिइन् र छुरा खोसेर आत्मरक्षाका क्रममा आफूले घटना घटाएको बताएका छन्। यद्यपि घटनाको पूर्ण विवरण र सत्यता प्रहरी अनुसन्धानपछि मात्र खुल्ने जनाइएको छ।
प्रहरीका अनुसार, १६ वर्षीया मनिषासँग राजेन्द्रको केही समयअघि मात्र प्रेम सम्बन्धबाट दोस्रो विवाह भएको थियो। मनिषा हाल माइतीमै बस्दै आएकी थिइन् र राजेन्द्र उनलाई लिन ससुराली गएका थिए।
घटनास्थलमा प्रहरीले मुचुल्का तयार गरी सबै शवहरू पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ। अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।



