काठमाडौं — दक्षिण कोरियाले भोटेकोशी बाढीपछि नेपालमा भइरहेको पुनर्निर्माण प्रयासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा कोरियाले पुनर्निर्माणमा सघाउने इच्छा व्यक्त गरेको हो। भेटवार्ताका क्रममा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजीका विषयमा समेत दुवै पक्षबीच कुराकानी भएको थियो।
मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली तथा अन्तरनिकाय र्यापिड रेस्पोन्स टोली परिचालन गरी सहयोग गरेकोमा दक्षिण कोरिया सरकारप्रति धन्यवाद व्यक्त गरेका थिए।नेपालले विपद्का बेला प्राप्त मानवीय सहायता तथा राहत सामग्रीको प्रशंसा गर्दै मन्त्री खनालले आगामी दिनमा विपद् प्रतिरोधी, दिगो र बलियो पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए। त्यसका लागि दक्षिण कोरियाबाट निरन्तर सहयोगको अपेक्षा रहेको उनको भनाइ थियो।



जवाफमा दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया सरकार तयार रहेको बताएका छन्। उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिका विषयमा विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको पनि बताए। मन्त्री ह्युनले जलवायु परिवर्तनबाट प्रभावित मुलुकका मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा उठाउन नेपाल र दक्षिण कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिए। विशेषगरी कोप लगायतका विश्वव्यापी मञ्चमा जलवायुजन्य विपद्का कारण नेपालले भोग्नुपरेका समस्या र क्षतिबारे अन्य देशलाई सचेत गराउन दुवै मुलुकले हातेमालो गर्नुपर्ने उनको भनाइ थियो।
नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने आर्थिक सहयोगका विषयमा दक्षिण कोरियाले पनि आफ्नोतर्फबाट आवाज उठाउने प्रतिबद्धता ह्युनले व्यक्त गरेका छन्। भेटवार्ताको अन्त्यमा दुवै मन्त्रीले नेपाल र दक्षिण कोरियाबीच लामो समयदेखि कायम मित्रता, आपसी विश्वास र सहकार्यलाई थप सुदृढ गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युन तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएका हुन्। उनको भ्रमणका क्रममा विपद्पछिको सहयोगसँगै नेपाल–दक्षिण कोरिया सम्बन्ध र आगामी सहकार्यका विषयमा समेत छलफल भइरहेको छ।



