काठमाडौं । नुवाकोटको भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह बढेको छ । रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीले पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।



बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित त्रिशूली–काठमाडौँ प्रसारण लाइनको स्टेशनमा क्षति पुर्याएको छ ।



