काठमाडौं । निर्वाचन आयोगले माघ ५ गते देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आयोगको आज बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको अघिल्लो दिन आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । आचारसंहिताले प्रचार प्रसार, उम्मेदवारले गर्ने गतिविधी, सरकारले गर्ने नियुक्ती र सञ्चार माध्यमहरुले प्रकाशन गर्ने समाचारहरुको समेत अनुगमन गर्नेछ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।



यस्तै प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशित गरी उम्मेदवारी दर्ता गराउन आवश्यक कागजातबारे जानकारी दिएको छ । त्यसमा उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने उल्लेख गरिएको छ । महिला, दलित, अल्पसंख्यक समुदाय र आर्थिक रुपमा विपन्न उम्मेदवारले भने ५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । आर्थिक रुपले विपन्न व्यक्तिले सम्बन्धित स्थानीय तहबाट सिफारिस ल्याउनुपर्नेछ ।
प्रतिनिधि सभा सदस्यका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।



