काठमाडौं । मंगलोदय सृजनशील समाजले शैक्षिक सामग्री वितरण गर्ने भएको छ । जो सित जे छ त्यही दान गरौं । ‘दान गरौं पुण्य कमाऔं’ भन्ने नाराका साथ समाजले गोरखा जिल्लाको उत्तरी भेकको आरुघाट गाउँपालिका–३ मा अवस्थित श्री नीलकण्ठ आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न लागेको हो ।




समाजका अध्यक्ष दिवाकर थापाले मंसिर २६ गते शुक्रबार विद्यालय नै पुगेर शैक्षिक सामग्री हस्तान्तरण गर्न लागेको बताउनु भयो । उहाँले समाजमा सकरात्मक रुपान्तरण ल्याउने लक्ष्यका साथ वि.सं.२०७६ साल मंसिरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको उल्लेख गर्नुभयो ।

संस्थाका महासचिव सन्तोष सिग्देल आफुहरुको सानो प्रयत्नले साना नानीबाबुको भविष्य उज्ज्वल हुन्छ भने उनीहरुको खुशीको लागि आफुहरुले केही सहयोग गर्न लागेको बताउनु भयो । उहाँले मंगलोदय सृजनशील समाजको निःस्वार्थ अभियान, समाज रुपान्तरणमा सबैको योगदान भन्ने मूल नारालाई चरित्रमा उतार्न हातेमालो गर्न आहवान समेत गर्नुभयो ।

शैक्षिक सामग्री वितरण कार्यक्रमका संयोजक सुरज नेपालले समाजले स्थापनाकालदेखि नै विपन्न तथा आर्थिक रुपमा पछाडि परेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण, स्वास्थ्य शिविर, साँस्कृतिक जगेर्ना, पर्यटन विकास, सरसफाई, वृक्षारोपणका साथै विभिन्न जन चेतनामूलक अभियानका माध्यमबाट सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको जानकारी दिनुभयो । उहाँले समाजले यसअघि दुई पटक उक्त विद्यालयमा पोशाक, खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिसकेको उल्लेख गर्नुभयो ।
श्री नीलकण्ठ आधारभूत विद्यालयमा मुख्यतः बराम बालबालिकाहरु अध्ययनरत छन् ।



