हेटौंडा — मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ३८ ग्राम पदार्थ बरामद गरेको जनाएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडकखण्डमा चेकजाँच गरेको थियो।
बुधबार दिउँसो करिब ४ः४५ बजे चुरियामाईतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प.७८१२ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गरेको थियो। मोटरसाइकलमा तीन जना सवार थिए। चेकजाँचका क्रममा उनीहरूमाथि शंका लागेपछि प्रहरीले कानुनी प्रक्रियाअनुसार खानतलासी गरेको थियो। खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३८ ग्राम फेला परेको प्रहरीले जनाएको छ।



पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१२ का २४ वर्षीय अभिषेक भ्लोन रहेका छन्। उनी उक्त मोटरसाइकलका चालक रहेको प्रहरीले जनाएको छ। यस्तै, मोटरसाइकलमा सवार मनहरी गाउँपालिका–३ डोढेका २४ वर्षीय आशिष घलान र सोही स्थानका २७ वर्षीय बिमल सुनार पनि पक्राउ परेका छन्। प्रहरीले बरामद भएको लागूऔषध र मोटरसाइकललाई कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बरामद पदार्थ प्रारम्भिक रूपमा खैरो हेरोइनजस्तो देखिए पनि यसको प्रकृति तथा वास्तविकता आवश्यक परीक्षणबाट पुष्टि हुनेछ। घटनामा लागूऔषध कहाँबाट ल्याइएको थियो र कहाँ लैजाँदै गरिएको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



