काठमाडौैं । चन्द्रागिरि नगरपालिका वडा नं. ९ ले मच्छेनारायण मन्दिर क्षेत्रमा लाग्ने परम्परागत मच्छेनारायण मेलालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन विभिन्न निर्देशन जारी गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रत्येक तीन–तीन वर्षमा सञ्चालन हुने उक्त मेलालाई व्यवस्थित बनाउन स्थानीयवासी, दर्शनार्थी तथा सरोकारवालालाई नियम पालना गर्न आग्रह गरेको हो ।



जारी सूचनाअनुसार मन्दिर परिसर तथा वरपरका क्षेत्रमा फोहर फाल्न, प्लास्टिकजन्य सामग्री प्रयोग गर्न, लुगा धुने तथा पशुचौपाया छाड्ने जस्ता गतिविधि नगर्न अनुरोध गरिएको छ । साथै, मेलाको अवधिभर शान्ति सुरक्षा कायम राख्न वडा कार्यालय र सुरक्षाकर्मीहरूसँग सहकार्य गर्न पनि आग्रह गरिएको छ ।
त्यसैगरी, भीडभाड हुने स्थानमा सवारी साधन अनावश्यक रूपमा नल्याउन, व्यापार व्यवसाय सञ्चालन गर्दा सम्बन्धित निकायबाट अनुमति लिई तोकिएको स्थानमा मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न पनि सूचनामा उल्लेख गरिएको छ ।
खाद्य सामग्री तथा खानेपानीको स्वच्छतामा विशेष ध्यान दिनुपर्ने र स्वास्थ्य तथा सरसफाइका मापदण्ड पालना गर्नुपर्नेमा पनि जोड दिइएको छ । वडा कार्यालयले सूचनाको अवज्ञा गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । साथै, सबै सरोकारवालालाई मेलालाई सभ्य, सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्न अनुरोध गरिएको छ ।



