काठमाडौं । २०७९ को निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ चर्चामा रह्यो । एउटा मतदानस्थलमा अकल्पनीय अर्थात ९९ प्रतिशत मत खसेपछि त्यस ठाउँमा पित्रृको भोट खसेको भन्दै विवाद भयो । यही कारण एक हप्तासम्म मतगणना हुन सकेको थिएन । अहिले भने त्यस्तो अवस्था आउन नदिने जिल्ला निर्वाचन सुरक्षा समितिको दावी छ ।
अघिल्लो निर्वाचन अर्थात् २०७९ मा स्याङ्जा क्षेत्र नम्बर २ मा रहेका ९१ वटा मतदान स्थल र १ सय ५१ मतदान केन्द्र मध्ये एउटा मतदान स्थलमा अत्यधिक मत खसेको थियो । कुल मतको ९९ प्रतिशत मत खसेको पाइएपछि मुचुल्का गरेर मतगणना स्थलमा लगिएका बाकसहरु पनि एक हप्तासम्म गणना भएको थिएन । दिबंगत भैसकेका व्यक्तिको नाममा पनि भोट खसेको पाइएको भन्दै ‘पितृको भोट’ भनेर देश भित्र र बाहिर चर्चा भैरह्यो । मतगणनास्थल बाहिर तत्काल मत गन्नुपर्ने र त्यस क्षेत्रमा पुनः निर्वाचन हुनुपर्ने नारावाजीका बीच गणना भएको थियो । अहिले भने त्यस्तो अवस्था आउन नदिने जिल्ला सुरक्षा समितिले दावी गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले स्याङ्जामा जिल्लाभर १९९ मतदान स्थल र ३२२ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये ५६ वटा केन्द्रलाई अति संवेदनशील, ७१ वटालाई संवेदनशील र ७२ वटालाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । सुरक्षा निकायले अति संबेदनशील तोकिएको क्षेत्र त खुलाएको छैन । तर निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउन तयार रहेको उसको दावी छ । अति संवेदनशील र संवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षा बल परिचालन गरिने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक दधिराम न्यौपानेको भनाई छ ।



जिल्ला सुरक्षा समितिले विगतका गतिविधि, भौगोलिक अवस्था, सडक पहुँच र पूर्वाधारको स्थितिलाई आधार मानेर सुरक्षा संवेदनशीलता निर्धारण गरिएको जिल्ला सुरक्षा समितिको भनाई छ । पितृको भोट भनेर बदनाम भएकाले यस्ता गतिविधिलाई रोक्न कुनै कसर बाँकी नराखिने सुरक्षा समितिको दावी छ । त्यस्तो वातावरण हुन नदिनका लागि मतदान अधिकृत मात्रै भन्दा पनि पार्टीका प्रतिनिधिहरुको पनि उत्तिकै दायित्व हुने स्याङ्जाका मुख्य निर्वाचन अधिकृत उपेन्द्र गौतमको भनाई छ ।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख १७ हजार ९३० जना मतदाता रहेका छन् । अघिल्लो मतदानको बेला एक ठाउँको बढि चर्चा भएपनि कुनै एउटा दलको प्रभाव बढि भएको ठाउँमा त्यस्ता गतिविधिहरु हुने गरेको गुनासो भने अन्य ठाउँबाट पनि आउने गरेका छन् । यस्तो अवस्था आउन नदिन सबै दल, उम्मेद्वार, सुरक्षा निकाय र मतदाता सबैको उत्तिकै दायित्व हुनेछ ।



