नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनमा मतदान गर्न चाहनेहरुका लागि मतदानबाटै पदाधिकारी चयन हुने बताउनुभएको छ । आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह लोगो सार्वजनिक गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा संगठनात्मक विषय, राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था नरहेको बताउनु भयो । विधानमा ठूलो परिवर्तन गर्नुपर्ने केही नरहेको भएपनि आवश्यक परे केही छोटो विधिबाट गर्न सकिने स्पष्ट पार्नुभयो । उन्नत सहमतिका साथ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा अघि बढाउन उहाँको आह्वान छ । महाधिवेशन पुनःगठन, पुनः संरचना, रुपान्तरण, पुस्तान्तरणको थलो भएको बताउँदै सकेसम्म सहमतिका आधारमा पदाधिकारी टुंग्याउन आग्रह गर्नुभयो । सर्वसम्मति हुन नसके मतदान अनिवार्य हुने पनि स्पष्ट पार्नुभयो । एकतावद्ध भएर महाधिवेशनमा जान र कसैलाई अपमान नगर्न उहाँको आग्रह छ ।



अध्यक्ष ओलीले प्रतिष्पर्धालाई एमालेले नराम्रो नमान्ने पनि स्पष्ट पार्नुभयो । यस्तै ओलीले अन्तरिम सरकारले गरेको संसद विघटन प्रतिगमन भएको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रतिगमनलाई प्रतिगमन भन्न नसक्नेहरु विभिन्न समयमा संसद विघटन भएको थियो, यो कसरी असंवैधानिक हुन्छ भनेर कुतर्क गरिरहेको बताउनु भयो । यस्तै ओलीले अन्तरिम सरकारलाई बुख्याँचाको संज्ञा दिँदै लोकतन्त्र फर्काउने बाटोमा लाग्न आह्वान गर्नुभयो् । अन्तरिम सरकारप्रति लक्षित गर्दै अनिर्वाचित बुख्याँचाहरु तरकारी बारीमा नै ठिक रहेको टिप्पणी गर्नुभयो । सिंहदरबार कसैले लगेर किलोमा राखिदिने बुख्याँचाको लागि नभएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले अन्यायको पक्षमा उभिने व्यक्ति नै जनताको प्रतिनिधि भएको बताउनु भयो । निर्वाचन जितेर मात्रै प्रतिनिधित्व नभइने भन्दै जनताको पक्षमा उभिनसक्नुपर्ने बताउनु भयो ।



