काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतपेटिका संकलन गरी गणना कार्य द्रुत गतिमा अघि बढाउने योजना बनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले परिणाम आउन समय नलाग्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार, समानुपातिक मत परिणाममा एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्रै घोषणा गरिने आयोगको तयारी छ । भण्डारीले मतपत्र उपत्यका बाहिर पठाउने काम सकिएको र काठमाडौँ, ललितपुर तथा भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म पु¥याइसक्ने गरी काम भइरहेको जानकारी दिनुभयो । साथै, मतदान अधिकृतहरुको तालिम मंगलबार साँझसम्म सम्पन्न हुनेछ र त्यसपछि आवश्यक सामग्री लिएर सम्बन्धित मतदान केन्द्रमा खटिने व्यवस्था भइरहेको बताउनुभयो ।

निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको र आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो । मतपत्र छपाइदेखि ढुवानीसम्मको जटिल व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिएको पनि उहाँले बताउनुभयो । उहाँले हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने सन्दर्भमा आयोगले निर्णय गर्न बाँकी रहेको स्पष्ट पार्दै भन्नुभयो कि भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित नहुन आयोग तयार छ ।

उहाँले मतदातालाई सामाजिक सञ्जालमा आउने असत्य समाचारको पछि नलाग्न र तत्काल हटाउन आग्रह गर्नुभयो । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय