आज १८ वर्ष पूरा भएको छ मधेश आन्दोलनको, जसले संघीयता र समावेशिता सहितको व्यवस्थाको माग गर्दै देशभरिका मधेशी समुदायका अधिकारहरूको रक्षा गर्ने महत्त्वपूर्ण भूमिका निभाएको थियो। २०६२/६३ सालको जनआन्दोलनपछि, माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको भन्दै मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन सुरु भएको थियो।
यस आन्दोलनको प्रमुख घटना २०६३ साल माघ ५ गते सिराहाको लहानमा घटेको थियो, जहाँ लिटिल स्टार बोर्डिङ स्कुलका विद्यार्थी रमेश महतोले आन्दोलनका क्रममा शहादत दिएका थिए। उनको बलिदानको सम्झनामा आज विशेष कार्यक्रम आयोजना गरिएका छन्। रमेश महतोको बलिदानले आन्दोलनलाई नयाँ दिशा दिएको थियो र आन्दोलनको गति तीव्र बनायो।



मधेश आन्दोलनको परिणाम स्वरुप संघीयता, समानता, समावेशिता र आरक्षण जस्ता महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त भए। २१ दिन लामो आन्दोलन पछि, सरकारले संविधान संशोधन गर्दै संघीयता र समावेशिता समेट्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।
तर, आन्दोलनका १८ वर्षपछि पनि मधेशी समुदायका नागरिकले अझै पनि पूर्ण अधिकार प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। मधेशी समुदायका नागरिकहरू अझै पनि अधिकारको पूर्ण कार्यान्वयनको लागि संघर्ष गर्दैछन्।
आजको दिन मधेश आन्दोलनका योगदानलाई सम्झना गर्दै विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएका छन्, र यस आन्दोलनको महत्वलाई जनसमक्ष ल्याउनका लागि कार्यकर्ता र नेताहरूले बोलिएका छन्।



