काठमाडौं, २०८२ जेठ २९: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका सांसद तथा पूर्वगृहराज्यमन्त्री सरोज कुमार सिंहलाई पक्राउ गरेको छ। सांसद विकास कोषको रकम दुरुपयोग गरेको गम्भीर आरोपमा आयोगको टोलीले बिहीबार साँझ अनामनगरबाट उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियारको प्रारम्भिक अनुसन्धानबाट सिंहले सांसद विकास कोषको २७ प्रतिशतसम्म रकम आफ्नो व्यक्तिगत खातामा सारेको तथ्य खुलेको छ। यसअघि नै आयोगले यस प्रकरणमा सिंहका स्वकीय सचिवलाई पक्राउ गरी गहन अनुसन्धान गरिरहेको थियो। जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सिंह मधेस प्रदेशको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका एक परिचित नेता हुन्।



कोषको रकम व्यक्तिगत फाइदाका लागि प्रयोग गरिएको प्रमाण भेटिएपछि अख्तियारले उनलाई पक्राउ गरेको जनाएको छ। अख्तियारले सिंहमाथि थप सोधपुछ र छानबिन जारी राखेको छ, जसबाट यस प्रकरणका अन्य पाटोहरू पनि खुल्ने अपेक्षा गरिएको छ।



