काठमाडौं- सरकारले मन्त्रिपरिषद् बैठकका सातवटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निर्णय सार्वजनिक गर्दै तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गरिएको जानकारी दिनुभयो।
बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याबलाई नियुक्त गर्ने, नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय गरेको छ।



यस्तै, पशु बधशाला तथा मासु जाँच ऐन २०५५ देशभर चरणबद्ध रूपमा लागू गर्ने, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक संसदमा पेस गर्ने निर्णय भएको छ। विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डा। खड्गबहादुर केसी र सचिवमा प्राध्यापक डा. रोजेश श्रेष्ठलाई नियुक्त गरिएको छ। सुनसरी र सिराहामा भएका प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय पनि गरिएको छ।



