ललितपुरको हरिसिद्धीमा जेब्रा क्रसिङ नजिकै कोशी प्रदेश मन्त्री रामबहादुर मगर सवार गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिँदा पनि रोकिएर सहयोग नगरेको दृश्यले आक्रोश उब्जाएको छ। जिम्मेवारीबिहीन यो घटना एमाले महाधिवेशनसम्म छायाँ फैलिँदा प्रधानमन्त्री ओलीले सामान्य घटना भन्दै दिएको टिप्पणी झन् विवादास्पद बनेको छ। शनिबार बिहान सवा सात बजेको थियो। ललितपुरको हरिसिद्धी माध्यमिक विद्यालय अगाडि सडक प्रायः दैनिकजस्तै व्यस्त थियो। त्यही भीडबीच ११ वर्षीया उषा सुनुवार बाटो काट्न अघि बढेकी थिइन्। जेब्रा क्रसिङभन्दा केही अगाडिबाट उनले सडक पार गर्न खोज्नेबित्तिकै कालो रङको सरकारी नम्बर प्लेट भएको गाडी तीव्र गतिमा नजिकिँदै गयो। एक क्षणमै गाडीले उनलाई ठक्कर दियो। सिसिटिभी फुटेजमा देखिएझैं, उषा सडकमै पछारिइन्। गाडी भने एक सेकेन्ड पनि रोकिएन, सीधा अघि बढ्यो।
उषा लडेकी थिइन्। पछाडिबाट आएको मोटरसाइकलमा सवार एक महिलाले तत्क्षण दौडिएर उनलाई उठाइन्। वरिपरिका मानिसहरू चिच्याउँदै अगाडि बढे। मन्त्रीको गाडीले हानेर भाग्यो भन्ने स्वरहरू गुन्जिन थाले। केही बेरमै सडकमा भीड जम्मा भयो। गाडी कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार हुनुहुन्थ्यो। उहाँ एमालेको विधान महाधिवेशनतर्फ जाँदै हुनुहुन्थ्यो । तर, गाडीले बालिकालाई ठक्कर दिएर रोकिएन भन्ने खबर फैलिँदा स्थानीयहरू आक्रोशित भए। सडक अवरुद्ध गरियो। दोषीलाई कारबाही गर, न्याय देऊ भन्ने आवाज सडकमा गुन्जियो।



उषालाई तत्कालै बिएन्डबी अस्पताल पुर्याइयो। अस्पतालले आपत्कालीन उपचारपछि डिस्चार्ज गर्यो। भाग्यवश, उनको चोट गम्भीर थिएन। उता गोदावरीस्थित सनराइज हलमा महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले दुर्घटनालाई सामान्य घटना भन्दै राजनीतिकरण नगर्न आग्रह गर्नुभयो । त्यो अभिव्यक्ति बाहिर निस्किँदै गर्दा सामाजिक सञ्जालमा आलोचना तातेको थियो। धेरैले ओलीले पीडितप्रति संवेदना देखाउनुभन्दा घटनालाई ‘हल्का पार्ने’ प्रयास गरेको आरोप लगाएका छन् । रास्वपा सांसद निशा डाँगीले मन्त्री फरार भएको टिप्पणी गर्नुभयो ।
उता, ललितपुर प्रहरीले गाडी नियन्त्रणमा लिएको र मन्त्री मगर स्वयं अस्पताल पुगेर बालिकाको अवस्थाबारे बुझेको पुष्टि गरेको छ । तर ठक्कर दिएपछि घाइतेको अवस्था बुझ्नुपर्नेमा त्यसो गरेको पाइएन । यसले सत्तामा रहनेको नैतिकतामाथि थप प्रश्न उठाएको छ ।



