काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट फरार अभियुक्तको सूचीमा रहेका खगेन्द्र सुनार अहिले कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने तयारीमा छन्। अदालतले उनलाई अधिवक्ता मनीषा गौतमलाई सामाजिक सञ्जालमार्फत अपशब्द बोलेको र अदालतको अवहेलना गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको हो।
सुनारविरुद्ध अधिवक्ता गौतमले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमार्फत २०८२ साउन २ गते अदालतमा मुद्दा दायर गरिएको थियो। तीन दिनपछि अदालतले साउन ५ गते सुनारलाई पक्राउ गर्न पुर्जी जारी गरेको श्रेस्तेदार इन्दिरा कार्कीले बताइन्। अदालतले जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्र पठाए पनि हालसम्म सुनार पक्राउ परेका छैनन्।



मुद्दा “सरकारवादी फौजदारी” रूपमा दर्ता गरिएको छ। अदालतका अनुसार, दोषी ठहर भए सुनारलाई पाँच वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।
०७७ जेठ ११ गते रुकुम पश्चिम घटनापछि सुनारले नवराज विक लगायतको न्यायका लागि आन्दोलन चलाएका थिए। त्यसअघि पनि उनी सार्वजनिक सम्पत्ति तोडफोड र राष्ट्रसेवक कर्मचारीलाई अवरोध गरेको आरोपमा कार्तिक १५ गते प्रशासन कार्यालय सुर्खेतबाट १० हजार रुपैयाँ जरिवानामा सजाय पाइसकेका थिए।
हालसम्म उनी फरारकै सूचीमा रहेका छन् भने अदालतले पक्राउ पुर्जी अझै कार्यान्वयन हुन नसकेको जनाएको छ।



