विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनु भएको छ । प्रदेश सभाको बैठकमा थापाको पक्षमा ४७ मत, विपक्षमा ३० मत परेको बैठकका अध्यक्षता गर्नुभएका सभामुख इस्नाइल मन्सुरीले बताउनु भयो ।
उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं आएपछि अध्यक्ष मण्डलका सदस्य मन्सुरीले सभामुखको भूमिकामा बैठक संचालन गर्नुभएको थियो । बैठकमा कुल सांसदहरूको उपस्थिति संख्या ७७ रहेको थियो । अध्यक्ष मण्डलका सदस्य मन्सुरीले पनि मतदान गर्नुभएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउनु भएको थियो ।



हाल कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना सांसद रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अध्यक्षता ग्रहण गरेको व्यक्तिले मतदान गरेकोमा विरोध गरेको थियो ।



