भेपभित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि जिल्ला अदालत काठमाडौंको आदेशमा महरालाई थुनामा पठाइएको थियो। जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेका थिए। तर उच्च अदालतले उक्त आदेश बदर गर्दै धरौटीमा छाड्ने निर्णय गरेको हो।
महरालाई प्रहरीले विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको थियो। उनमाथि भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ। यसअघि २०८० चैत ५ गते पनि उनलाई कागज गराइएको थियो।प्रकरण अनुसार २०७९ पुस १० गते फ्लाइ दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले दुई सुटकेसभित्र ७३ बट्टामा ७३० वटा भेपभित्र सुन ल्याएको खुलेको थियो। उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भन्सारका कर्मचारीले बाहिर निकालेका थिए।



प्रहरीको दाबी अनुसार, भन्सारमा नियन्त्रणमा लिएर पनि छुटाउन चिनियाँ तस्कर र महरा बाबु–छोराको मिलेमतो रहेको देखिएको छ। यस प्रकरणमा भन्सारका कर्मचारीविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको छ। यद्यपि प्रारम्भिक चरणमा महरा र उनका छोरालाई प्रतिवादी बनाइएको थिएन। पछि अनुसन्धानका क्रममा उनीहरूको संलग्नताको आशंका बलियो बनेपछि उनीहरूलाई आरोपित गरिएको हो।



