काठमाडौं । महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका तत्कालिन अध्यक्ष स्वर्गीय सूर्यनारायण मानन्धरको प्रतिमा अनावरण गरिने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ रहेको उपभोक्ता समितिको प्राङ्गणमा मानन्धरको प्रतिमा बुधबार अनावरण गर्न लागिएको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मानन्धरको प्रतिमाको अनावरण गर्नुहुने छ ।



समितिका कार्यवहाक अध्यक्ष यलबहादुर महर्जनले साविक महादेवस्थान गाउँ विकास समिति हुँदा ९ वटै वडामा खानेपानीको समस्या जटिल बन्दै गएपछि २०६३ सालमा मानन्धरकै अध्यक्षतामा महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरिएको जानकारी गराउनु भयो । उहाँले मानन्धरको दुरदर्सीताका कारण यतिबेला चन्द्रागिरि नगरपालिकाको ५, ६ र ७ का वडाबासीको खानेपानी समस्या लगभग अन्त्य भएको दाबी समेत गर्नुभयो । कार्यवहाक अध्यक्ष महर्जनले सूर्यनारायणको खानेपानी क्षेत्रमा अतुलनीय योगदान रहेकै कारण उहाँको सम्मान स्वरुप कार्यालय परिसरमा प्रतिमा स्थापना गर्न लागिएको पनि स्पष्ट पार्नुभयो ।
चन्द्रागिरि नगरपालिका भित्र रहेका खानेपानी उपभोक्ता समिति मध्ये महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समिति सबैभन्दा ठूलो समिति हो । यो समितिले अहिलेसम्म ४ हजार ४ सय घर धुरिलाई धारा वितरण गरिसकेको छ भने १ हजार निवेदकलाई नयाँ धारा जडान गर्ने तयारी गरिरहेको छ ।



